११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदीय छानबिन समिति गठनमा प्रतिपक्ष र सत्तापक्षबिच बालुवाटारमा पनि भएन सहमति

सत्तापक्ष र प्रतिपक्षबिच बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको छलफल पनि बिना निष्कर्ष टुङ्गिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबिच छलफल भएको थियो।

तर यो छलफलमा पनि कांग्रेसले आफ्नो अडान कायम राख्यो। र, वार्ता सहमतिमा पुग्न सकेन्। सरकार संसदीय छानबिन समितिबाट भाग्न खोज्दै भने कांग्रेस कुनैपनि हालतमा मंगलबारसम्म समिति गठन गर्नुपर्ने मागमा छ।

यसैबिच कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू विवाद टुङ्ग्याउन बालुवाटारमा छलफल गरिरहेका थिए। छलफलमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहभागी थिए। 

यसअघि आजै संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले पनि कांग्रेस ‘संसदीय छानबिन समिति’बाट पछाडि नहट्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिएका थिए। 

‘कांग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसद्का काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्छ’, बैठकपछि लेखकले चेतावनी दिएका थिए। संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। 

बैठकले गरेको निर्णय बारे जानकारी दिँदै लेखकले सरकारको बहालवाला मन्त्रीहरू समेत सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखा परेको अवस्थामा सरकार असंवेदनशील भएको आरोप लगाएका थिए। 

उनले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उल्लेख गरे।

प्रकाशित: २७ चैत्र २०८० १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App