सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्। मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका उनले आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्य मन्त्री शाहले विश्वासको मत माग्ने छन्।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरिदिएका थिए। त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। सोही अनुसार उनी आज विश्वासको मत लिन लागेका हुन्।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।
आज विश्वासको मतको क्रममा नाउपामा सबैको ध्यान हुनेछ। नउपामा पछिल्लो समय पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीबीचको विवादका कारण नाउपा भित्र तनाव उत्पन्न भएको छ। यस अवस्थामा नाउपाले के गर्छ भन्ने सबैको चाँसोको विषय बनेको छ।
प्रकाशित: २२ चैत्र २०८० ०९:२० बिहीबार





