१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीकाे रणनीति: विश्वासको मत नमाग्ने, नयाँ सरकारमा दाबी गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नमाग्ने भएका छन्।

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने थियो। तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएनन्। त्यसैले उनले विश्वासको मत माग्नका लागि सूचना पठाउने समय घर्की सकेको छ।

यद्यपि उनले मंगलबार साँझसम्म राजीनामा समेत दिएका छैनन्। मुख्यमन्त्री निकट श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले बुधबार वा बिहीबार राजीनामा दिँदै छन्। यसअघि मंगलबार नै राजीनामा दिने भनेर हल्ला चलाइए पनि उनले राजीनामा दिएनन्।

यसैबिच, कांग्रेसले नयाँ बन्ने सरकारका लागि पनि दाबी गर्ने भएको छ। विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन्।

मुख्यमन्त्री पाण्डेले मंगलबार पोखरामा उपलब्ध कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा उनले विश्वासको मत नपाउने अवस्थामा संवैधानिक प्रक्रिया अनुसार मार्ग प्रशस्त गर्न लागेको जानकारी गराएको प्रदेश सभा सदस्य प्रकाश बरालले जानकारी दिए।

मुख्यमन्त्रीलाई उद्धृत गर्दै सांसद बरालले भने, ‘यथास्थितिमा विश्वासको मत पाउने अवस्था छैन। त्यसैले म संवैधानिक प्रक्रिया अनुसार माग प्रशस्त गर्दै छु।’

त्यसपछि मुख्यमन्त्री पाण्डेले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सुझाव मागेका थिए। सहभागी प्रदेश सभा सदस्यहरूले नयाँ सरकारमा दाबी गर्न सुझाव दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए। ‘सम्भव भएसम्म नयाँ सरकारका लागि प्रयास गर्न उहाँहरुको सुझाव थियो चाहे त्यो उपधारा २ वा उपधारा ३ अन्तर्गतको’–उनले भने।

प्रदेश सभा सदस्य बरालले नयाँ सरकारका लागि हर सम्भव प्रयास गर्न सांसदहरुबाट सुझाव आएको जानकारी दिए। त्यसमा मुख्यमन्त्रीपनि सकारात्मक देखिएको उनले बताए। ‘नयाँ सरकारका लागि हर सम्भव प्रयास गर्ने कुरा भयो। त्यो कांग्रेसले होस् वा नयाँ गठबन्धनबाट। त्यो स्वाभाविक हो’–उनले भने।

मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आङ्कलन उनको छ। त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ।

गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८ (सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन्। बहुमत पुर्‍याउने पाण्डेकै दाबीमा विश्वास गर्दै मनाङे वर्तमान प्रदेश सरकारमा सहभागी छन्। तर अहिलेसम्म राप्रपा र देवकोटा दुवैले समर्थन जनाइसकेका छैनन्।

प्रकाशित: २० चैत्र २०८० १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App