२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मुस्किलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुस्किलले विश्वासको मत प्राप्त गरेका छन्। १६ महिनाका अवधिमा तेस्रो पटक विश्वासको मत लिएका उनले सोमबार मुस्किलले विश्वासको मत प्राप्त गरेका हुन्।

५६ मत भए सरकार जोगिनेमा उनलाई ५६ जना प्रदेशसभा सदस्यले मात्रै विश्वासको मत दिएका हुन्। ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा १०८ मतदान प्रक्रियामा सहभागी थिए। जसमध्ये विश्वासको पक्षमा ५६ मत खस्दा विपक्षमा ३७ मत र तटस्थमा १५ मत खसेको थियो। जम्कट्टेललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र हाम्रो नेपाली पार्टीका एक सांसदले विश्वासको मत दिँदा कांग्रेसले विपक्षमा मतदान गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसद भने तटस्थ रहेका थिए। योसँगै बागमती प्रदेशमा जम्कट्टेल नेतृत्वको सरकार जोगिएको छ।

जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली बमोजिम सोमबार विश्वासको मत लिएका हुन्। मुख्यमन्त्रीको विश्वासको मतको प्रयोजनार्थ दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ३ घण्टा ढिलो गरी ४ बजेपछि बसेको थियो। २०७९ पुस २५ गते बागमती प्रदेशका मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ गते विश्वासको मत लिएका थिए। तत्कालीन समयमा उनले एमाले माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट १०५ सासंद्को विश्वासको मत पाएका थिए। त्यसबेला नेमकिपाले मात्रै उनलाई मत दिएको थिएन। जम्कट्टेलले २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए। उक्त समय ६७ मत प्राप्त गरेका थिए। उनलाई त्यसबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहित हाम्रो नेपाली पार्टीले विश्वासको मत प्रदान गरेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा १७ जना सांसदले विपक्षमा मतदान गरेका थिए भने ७ जना सांसद तटस्थ बसेका थिए। विश्वासको मत प्राप्त गरेसँगै अब उनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

प्रकाशित: १९ चैत्र २०८० १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App