२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:२३ अपराह्न
राजनीति

इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस–माओवादी टिकट कुर्दै

चुनावी अभियानमा भोट माग्दै उम्मेदवारहरू

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्। उम्मेदवार टुंगो लागिसकेका नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दल अहिले निर्वाचन क्षेत्रमा होमिएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अझै टिकट पर्खिरहेका छन्।

एमालेले चैत ११ मै सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उम्मेदवार टुङ्गिएसँगै एमाले अहिले चुनावी घरदैलोमा निस्किसकेको छ। एमाले केही दिनयता इलाम नगरपालिका र आसपास स्थानीय तहका मतदातासमक्ष उम्मेदवारसहित पुगिरहेको छ। ‘बिहानदेखि रातिसम्म उम्मेदवारसहितका नेता–कार्यकर्ता मतदाता भेट्न पुगिरहनुभएको छ,’ एमाले जिल्ला सचिव उमेश गुरुङले भने, ‘जिल्लामा आवश्यक बैठक–भेला भइरहेका छन्।’

उम्मेदवार सुहाङ बिहान–बेलुका इलाम बजार वरपर रहेका आफ्ना बुबा सुवासचन्द्र नेम्बाङका सहयात्री, सहयोद्धा, उनका चेला र सहकर्मीलगायतसँग भेटघाटमा छन्। दिउँसो केही बैठक र मतदातासँग पुग्दैछन्। उनी इलाम नगरपालिकाका विभिन्न वडा पुगिसकेका छन्।

सचिव गुरुङका अनुसार एमालेले चैत २४ मा उम्मेदवारी मनोनयन गरेपछि क्षेत्र २ को माई नगरपालिकाबाट चुनावी घरदैलो गर्दैछ। त्यसअघिको अभियान इलाम नगरभित्रै केन्द्रित गरिएको छ। ‘मनोनयनपछि माई वा चुलाचुलीबाट निर्वाचन क्षेत्र प्रवेश गर्दै मौन अवधिअघि इलाम बजार नै फर्केर आउनेगरी कार्यक्रम बन्दैछ,’ उनले भने, ‘अहिले इलाम, देउमाई नगरपालिकातिरकै कार्यक्रम छन्।’

करिब तीन दशक इलाम क्षेत्र २ को प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका काम, उनको निधनपछि अधुरो रहेका र थप नयाँ योजनासहित एमाले यसपटक उपनिर्वाचनमा होमिँदैछ। ‘इलामको प्रत्येक विकासका काममा दिवङ्गत सुवास नेम्बाङका पाइला छन्, एमालेका पाइला कुँदिएका छन्,’ सचिव गुरुङले भने, ‘तर, सुरु गरिएका पूर्वाधारका दर्जनौँ काम अझै पूरा हुन बाँकी छन्, तिनै काम पूरा गर्ने र केही नयाँ कार्यक्रमसहित एमाले निर्वाचनमा जाँदैछ।’

गुरुङले बाटो, सिँचाइ, पुल, भवनलगायत भौतिक पूर्वाधार, कृषि, पशुपालन, स्वास्थ्य, शिक्षालगायत योजना एमालेको प्राथमिकतामा रहने बताए। ‘सबै क्षेत्र महत्त्वपूर्ण भएपनि क्षेत्र २ का भेडेटार–रवि–राँके, झापा–इलाम फास्ट ट्र्याक, नेपालटार–मंगलबारे, दमक–चिसापानी, राँके–गैँडे–महमाईजस्ता महत्त्वपूर्ण आयोजना नेम्बाङकै कल्पनामा सुरु भएका हुन्, पूरा हुन बाँकी छन्,’ गुरुङले भने, ‘एमालेबिना ती योजना पूरा गर्न सम्भव पनि छैन, त्यसैले एमाले यी काम पूरा गर्नलाई पनि यहाँबाट चुनिन चाहन्छ।’

रास्वपाले पनि चैत १५ मा उम्मेदवार टुंग्याएपछि घरदैलोमा जुटिसकेको छ। उम्मेदवार मिलन लिम्बूसहित रास्वपाको टोली अहिले मतदातासँग पुगिरहेको हो। सामाजिक सञ्जालमार्फत पनि प्रचारप्रसार तीव्र बनाएको रास्वपाले अहिले इलाम बजार र वरपर गाउँका मतदातासँग उम्मेदवारको भेटघाट गराइरहेको छ।

चैत १७ मा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय पदाधिकारी र सदस्यसमेत सहभागी भई मिलनलाई इलाम चोक बजारमा औपचारिक रूपमा पार्टीको उम्मेदवार घोषणा गरे। उनीहरूले मतदातालाई कम्तीमा एक पटक आफ्ना उम्मेदवारलाई भोट हाल्न अनुरोध गरे। उम्मेदवार घोषणा गर्दै सभापति लामिछानेले भने, ‘पुरानैलाई भोट हालेर नयाँ परिवर्तन आशा गर्न सकिँदैन। एक पटक हामीलाई मत दिएर हेर्नुहोस्, हामीले काम गर्न सकेनौँ भने अर्का पटक हाल्नुपर्दैन।’

सभापति लामिछानेले परिवर्तन गर्ने हो भने प्रतिनिधित्व परिवर्तन आवश्यक भएको बताए। ‘अब यो वाद र त्यो वादका पक्षमा लड्ने कि इलामलाई बनाउन, देश बनाउन लड्ने?’ उनले भनेका थिए, ‘अब कुनै दल, उम्मेदवारको विरुद्ध लड्ने होइन, परिवर्तनका लागि लड्ने, जनताका लागि लड्ने हो।’ रास्वपाले नागरिकका वास्तविक आवश्यकता र मुद्दामा पार्टी सहयात्री हुने दाबी गरेको छ।

वर्षाैंदेखि थाती समस्या समाधान गर्न अब आफू मात्रै सक्षम रहेको रास्वपाले बताइरहेको छ। उम्मेदवार लिम्बूले इलामको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आफूले सके जति गर्ने बताए। ‘म यहाँका समस्यासँग परिचित छु,’ उनले भने, ‘ती समस्या समाधान गर्न के गर्न सकिन्छ भन्नेमा पनि क्लियर छु।’

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका जिल्ला सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएपछि उनी पनि अहिले निर्वाचन क्षेत्रमा क्रियाशील छन्। पार्टीले उम्मेदवार तय गरेपछि अहिले मतदातासम्म पुगेर उनीहरूसँग मत माग्ने काम भइरहेको पार्टीले जनाएको छ। पार्टी जिल्ला सदस्य चेतन अधिकारीका अनुसार उम्मेदवार राईसहितको टोली अहिले चुलाचुली गाउँपालिकाका मतदातासँग भोट माग्दैछ। ‘नागरिकका कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर पार्टीले आफ्नो प्रतिबद्धता गर्दैछ,’ उनले भने, ‘हामी जुनसुकै हालतमा हाम्रा उम्मेदवारको उम्मेदवारी फिर्तासमेत नगर्ने गरी चुनावी अभियानमा जुटेका छौँ।’

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ। विभिन्न ४१ संस्थाको साझा उम्मेदवार भनिएका थेगिम पनि अहिले चुनावी अभियानमा गाउँ केन्द्रित छन्। ‘प्रदेशको नाम पहिचानका आधारमा नराखेर नेताहरूले धोका दिएपछि हामी आन्दोलनमा होमिएका हौँ,’ उनले भने, ‘त्यसैको जगमा टेकेर अहिले हामी बलियो उम्मेदवार भएका छौँ, जनतालाई कुरा बुझाउँदैछौं।’

उनले पहिचान स्थापित गर्नेदेखि नागरिकका सबैखाले आवश्यकता र समस्यामा आफूले सहकार्य र नेतृत्व गर्ने बताए। ‘भौगोलिक हिसाबले हाम्रो क्षेत्र निकै विकट छ,’ उनले भने, ‘यहाँको भौतिक विकासमा पनि हामी योजनाबद्ध हिसाबले काम गर्नेछौं।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले चुनावी अभियानमा छ। राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएपछि सिङ्गो पार्टी अहिले निर्वाचन क्षेत्रका मतदातासम्म पुगिरहेको छ। विद्यार्थी, युवा र पार्टीको नेतृत्व तहमा रहेर काम गरिसकेका छन्। उनीसहित पार्टीको टोलीले अहिले मतदातालाई आफ्ना कुरा बुझाउँदै मतका लागि आग्रह गरिरहेको राप्रपा जिल्ला समिति प्रवक्ता गोपाल पौड्यालले जानकारी दिए।

माओवादीले पनि जिल्लाबाट केन्द्रीय सदस्य धिरेन शर्मा रमणको नाम उम्मेदवारका लागि प्रदेश कमिटीमा पठाएको छ। शर्माको नाम एकल रूपमा सिफारिस भएपछि उनी नै उम्मेदवार बन्ने निश्चित छ। त्यसैले पार्टी अहिले निर्वाचन क्षेत्रका विभिन्न मतदातासँग चुनावी अभियानमा केन्द्रित भएको उम्मेदवार सिफारिसमा परेका केन्द्रीय सदस्य शर्माले जानकारी दिए। 

कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन। उम्मेदवार नै टुंगो हुन नसक्दा कांग्रेस मतदातासँग खासै पुगेको देखिएको छैन। उम्मेदवारका आकांक्षीमध्ये केही अहिले पनि काठमाडौँमै छन्। उम्मेदवार टुंगो नलागी चुनावी अभियानमा जान निकै सकसपूर्ण हुने जिल्ला तहका एक नेताले बताए । ‘अहिले मतदाताले पार्टी मात्र होइन, उम्मेदवार पनि हेर्छ,’ ती नेताले भने, ‘पार्टीको एजेन्डा कार्यान्वयन गर्ने उम्मेदवार नै टुंगो नभई के भन्दै भोट माग्न जानु?’

जिल्लाबाट सात जनाको नाम उम्मेदवारका लागि सिफारिस भएपछि को उम्मेदवार बन्ने भन्ने निर्णय भोलि (मंगलबार)सम्ममा आउन सक्ने जिल्ला सभापति डम्बरबहादुर खड्काले बताए। ‘अहिले पार्टी उम्मेदवार छनोटकै लागि छलफलमा छ,’ उनले भने, ‘मंगलबारसम्ममा निर्णय आउने जानकारी आएको छ।’

कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतमले कांग्रेसले क्षेत्र २ को भौतिक र सामाजिक विकासका एजेन्डा तय गरेको बताए। ‘यो क्षेत्र विशेष गरी भौतिक विकासका दृष्टिले पछि छ, यहाँको भौतिक विकास हाम्रो एजेन्डा हो,’ उनले भने, ‘यहाँको धार्मिक पर्यटनको सम्भावना उजागर गर्दै कृषि, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा पनि थुप्रै काम बाँकी छन्।’ 

०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए।

प्रकाशित: १९ चैत्र २०८० १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App