१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कार्यालयमा रास्वपा प्रतिनिधिमण्डलको ‘अध्ययन भ्रमण’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलको अध्ययन भ्रमण गरेको छ।

एमालेको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययन गर्न भ्रमण गरिएको रास्वपाले जनाएको छ। ‘राजनीतिक दल आफू व्यवस्थित हुन सकेमात्र देशलाई व्यवस्थित बनाउन सक्दछ। पार्टीको आन्तरिक प्रशासन र व्यवस्थापनले समग्र राजनीतिक परिणाममा समेत प्रभाव पार्ने हुन्छ,’ सामाजिक सञ्जालमार्फत उक्त भ्रमणका तस्बिर सार्वजनिक गर्दै रास्वपाले भनेको छ,‘तसर्थ राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा कर्मचारीले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो।’

अध्ययन भ्रमणमा पार्टी महामन्त्री ढकालसहित, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता रहेका रास्वपाले जनाएको छ।

रास्वपा प्रतिनिधिमण्डलको उक्त भ्रमणमा एमालेका नेताहरू महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णुप्रसाद रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई र कार्यालय सचिव भिष्म अधिकारीले स्वागत गरेका थिए।

यस्तै सो क्रममा एमाले नेताहरूले पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएका थिए।

रास्वपा महामन्त्री ढकालले आफूहरूले नेपाली राजनीतिमा यो नयाँ अभ्यास थालनी गरेको दाबी गरे। ‘यो अहिले सुरुवात मात्रै हो। यसैगरी अन्य पार्टीका कार्यालयहरूमा पनि यसैगरी अध्ययन भ्रमण गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने,‘ यो अध्ययन भ्रमण मुख्यतया पहिलो कुरा सिक्ने र दोस्रो परस्पर राजनीतिक दलबीच सद्भाव कायम गर्ने हाम्रो उद्देश्य छन्।’

पुराना दलका आन्तरिक प्रशासन र व्यवस्थापनबाट नयाँ दलले धेरै सिक्नुपर्ने आफूले महसुस गरेको उनले बताए। ‘दल भनेको आफैमा संस्था हुन्। दलहरूबीचमा परस्पर प्रतिस्पर्धा एकातिर हुँदै गर्छ। यद्यपि त्यहाँभित्रको व्यवस्थापन र राम्रा पक्ष एक अर्काले सिक्दा देशलाई पनि फाइदा नै हुन्छ,’ उनले भने, ‘त्यसमा पनि महामन्त्री/महासचिवसँग पार्टी कार्यालयको व्यवस्थापनको दायित्व हुन्छ। हामी नयाँ दल भएकाले पुरानो दलसँग रहेका तमाम सिकाइ आत्मसात् गर्न सकिन्छ भन्ने लागेर गएका हौं।’

यस्तै राजनीतिक दलका नेता होटल, रेस्टुरेन्टमा भेट गर्ने, वार्ता गर्ने संस्कार राम्रो नभएको टिप्पणी गर्दै महामन्त्री ढकालले त्यसको विकल्प पार्टी कार्यालय नै छलफल र भेटघाट गर्नुपर्ने आफ्नो बुझाइअनुसार नयाँ अभ्यास थालिएको उनले बताए।

उनले भने, ‘अब पार्टीहरूबीच राम्रो सम्बन्ध हुनुपर्छ। एकअर्काका पार्टी कार्यालयमा गएर छलफल गर्नुपर्छ भन्ने संस्कार बसाउन पनि हामी गएका हौं।’

रास्वपाले एमालेलाई आधिकारिक चिठ्ठी लेखेरै अध्ययन भ्रमण गरेको उनले बताए। ‘हाम्रो प्रस्ताव उहाँहरूले मान्नुभयो। अर्को सातासम्म उहाँहरू हाम्रो कार्यालय आउनुहुन्छ। यसैगरी अन्य पार्टीसँग पनि हामी छलफल र अध्ययन भ्रमण गर्छौं,’ ढकालले भने।

प्रकाशित: १५ चैत्र २०८० १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App