२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्तिको बैठक सुरु, रेशम पक्ष अनुपस्थित

फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक टीकापुरमा सुरु भएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकमा पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षको उपस्थिति छैन। पार्टीको संगठन विभाग प्रमुख समेत रहेका सुदूरपश्चिम प्रदेशका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी भने बैठकमा सहभागी रहेको उनका स्वकीय सचिव चम्मन चौधरीले जानकारी दिए। उनी पार्टीमा फरक मत राख्ने नेताका रुपमा चिनिन्छन्।

स्रोतका अनुसार बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल भइरहेको छ। सरकारमा सहभागिताका सवालमा पार्टी भित्र दुई गुट देखिएका छन्। अध्यक्ष श्रेष्ठ चौधरी संघीय सरकारको गठबन्धनका पक्षमा छन् भने संरक्षक चौधरी विपक्षमा छन्। संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका छन्। उनकै सल्लाहमा पार्टीका तर्फबाट पाँच जना मन्त्री समेत भएका छन्।

संघ र सुदूरपश्चिम प्रदेशमा फरक फरक गठबन्धन भएपछि पार्टी अध्यक्ष श्रेष्ठ चौधरी समस्यामा छन्। उनलाई कुनै एक गठबन्धन छोड्नुपर्ने बाध्यता छ।

संघीय सरकारसँगको गठबन्धन तोड्दा सुदूरपश्चिम प्रदेश बाहेकका सबै ठाउँमा प्रतिपक्षमा बस्नुपर्नेछ भने सुदूरपश्चिम प्रदेशमा सत्ताबाट बाहिरिनु पर्नेछ। सुदूरपश्चिम प्रदेशमा रहेका सात मध्ये पाँच सांसदहरूले काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन दबाब दिईरहेका छन्।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ। उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन्। 

प्रकाशित: १४ चैत्र २०८० १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App