१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाम २ को उम्मेदवारमा नेकपा एस बाट तीन जनाको नाम सिफारिस

उम्मेदवारको सिफारिसमा परेका पूर्णबहादुर बस्नेत, हरिबाला राई र जितबहादुर राई (बायाँबाट क्रमसः)।

इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले जिल्लाबाट तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।

केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेत, जिल्ला सचिव हरिबाला राई र सचिवालय सदस्य जितबहादुर राईको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको हो।

पार्टीको जिल्ला सचिवालयले उनीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटी सदस्य चेतन अधिकारीले बताए।

यसअघि नेकपा (एस)बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल, केन्द्रीय सदस्य रामचन्द्र पराजुली र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए। तर, खनाल, पराजुली र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा मात्रै अघि सार्न खोजेको थियो। खनाल २०७९ सालको निर्वाचनमा जिल्लाकै क्षेत्र १ बाट पराजित भएका थिए।

नेकपा (एमाले) ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा (एस)ले खनाल, पराजुली र केसीलाई जिल्लाबाट सिफारिस गरेको छैन।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ। २०७९ को निर्वाचनमा नेम्बाङ यो क्षेत्र ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। नेकपा (एस)समेतको गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

समानुपातिकतर्फ यो क्षेत्रमा नेकपा (एस)ले पाँच सय ८६ मत ल्याएको थियो। एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

प्रकाशित: १३ चैत्र २०८० १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App