२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले लियो समर्थ फिर्ता

 नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र लेखेर कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संविधानको धारा १६८ अनुसार प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराएको छ।

प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार सरकार पुनर्गठन गरी कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह र गृह सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमलाई हटाउँदै नेकपा एमालेलाई सहभागी गराएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

संघ सरकारबाट कांग्रेस बाहिरिएपछि एमाले सहितको बनेको नयाँ गठबन्धनअनुसार नै मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिएर प्रदेश सरकारबाट हट्न आग्रह गरेका थिए। तर कांग्रेस मन्त्रीहरुले आफूहरू राजीनामा नदिने कारणसहित मुख्यमन्त्रीलाई बर्खास्त गर्न अडान राख्दै आएका थिए।

कांग्रेसका मन्त्रीहरू राजीनामा गर्न नमानेपछि सोमबार मुख्यमन्त्री यादवले बर्खास्त गरी कांग्रेसको ठाउँमा एमालेलाई सरकार सहभागी गराएका छन्। मुख्यमन्त्री यादवले एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका थिए।

नयाँ सत्ता गठबन्धनअनुसार एमालेको भागमा चार मन्त्रालय परेको भनिए पनि एमालेले मन्त्रीको नाम नपठाउँदा तीन मन्त्रालयसहित पार्टी संसदीय दलका नेता यादव सरकारमा सहभागी छन्।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यसअघि मुख्यमन्त्री यादव तीनपटक विश्वासको मत लिइसकेका छन्।

पछिल्लोपटक जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला ६९ जना सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मतको पक्षमा मतदान गरे भने ३५ जनाले विपक्षमा मतदान गरेका थिए। सभाका कुल एक सय सात सदस्यमध्ये मतदानमा १०४ सांसदको उपस्थिति थियो।

प्रदेशमा नयाँ गठबन्धनअनुसार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, जसपाका १८, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९-९ सांसदको समर्थन छ। यस हिसाबले चौथोपटक पनि मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेछ।

दोस्रो ठुलो दल कांग्रेसका २२  र जनमत १३ सांसद सरकार बाहिर छ। राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन्।

प्रकाशित: १० चैत्र २०८० ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App