२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

इलाम-२: उम्मेदवार सातैजनाको नाम सिफारिस गर्ने इलाम कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको उम्मेदवारमा जिल्लाबाट सात जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

जिल्ला समितिको आज (बुधबार) बसेको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेश समितिमा सिफारिस गरी पठाउने निर्णय गरेको जिल्ला सभापतिसमेत रहेका खड्काले जानकारी दिए।

‘क्षेत्रीय समितिबाट आएका नाम नै जिल्लाले रायसहित प्रदेशमा पठाउँछ,’ उनले भने, ‘तर, अब यहाँबाट पठाउने नाममा चाहिँ नम्बरका आधारमा प्राथमिकतामा राखिने छैन। सबैको प्राथमिकता बराबर हुनेछ।’

चुलाचुली गाउँपालिकामा मंगलबार बसेको क्षेत्रीय समिति बैठकले तीन जनाको नाम पठाउनुपर्नेमा सात जनाको नाम जिल्लामा पठाएको थियो। क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले एक नम्बरमा नेता भेषराज आचार्य, दोस्रो नम्बरमा केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल तथा रमेश लिङ्देन र तेस्रो नम्बरमा चन्द्रमाया लिम्बू एवं शान्तिकला राईको नाम जिल्लामा सिफारिस भएको जानकारी दिएका थिए।

‘विधानअनुसार क्षेत्रीय समितिले गरेको सिफारिस नै अन्तिम हुन्छ तर क्षेत्रले जिल्लामा पठाएपछि जिल्लाले रायसहित प्रदेशमा सिफारिस गर्नुपर्छ,’ क्षेत्रीय सभापति इदिङ्गोले भने, ‘पठाउनुपर्ने त तीन जनाको नाम हो तर हामीले छलफल गर्दा सहमति नभएपछि सातै जनाको नाम पठाएका हौं।’

कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतमले क्षेत्रीय समितिबाट जस्तो निर्णय आएको छ, त्यही क्रममा प्रदेश समितिमा सिफारिस पठाउने बताए। ‘क्षेत्रीय समिति बैठकमा जिल्ला सभापति (डम्बरबहादुर खड्का) पनि आमन्त्रित सहभागी हुनुहुन्छ, त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिसमेत सहभागी हुनुहुन्छ,’ सचिव गौतमले भने, ‘विधानअनुसार त्यो बैठकले गरेको निर्णय जिल्लाले रायसहित पठाउने मात्रै हो, कुनै क्रम र प्राथमिकता तलमाथि हुँदैन।’

कांग्रेसले केन्द्रबाट पठाएको सर्कुलरअनुसार चैत ८ सम्ममा जिल्लाले प्रदेशमा र १० गतेभित्र प्रदेशले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्नुपर्छ।

२०७९ सालको निर्वाचनमा अहिले सिफारिसमा परेका कांग्रेस सभापति खड्का यो क्षेत्रको उम्मेदवार थिए। उनी नेकपा (एमाले) का सुवासचन्द्र नेम्बाङसँग एक सय १४ मतान्तरले पराजित भएका थिए। नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

यो क्षेत्रका लागि एमालेले जिल्ला कमिटीबाट सुहाङ नेम्बाङ, रवीन्द्र सुवेदी, बुद्धिप्रसाद खनाल, डा. देवी क्षेत्री दुलाल, रिप्पल राई र नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिसकेको छ।

नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल उम्मेदवार छनोट चरणमा छन्। पहिचानवादी दलको तर्फबाट डकेन्द्रसिंह थेगिम र स्वतन्त्र उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित: ७ चैत्र २०८० २१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App