१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहालको माकुरी जालमा जहिल्यै बाबुराम

२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल एउटै पार्टीमा जोडिए। त्यतिबेलादेखि अहिलेसम्म (३२ वर्ष अवधिमा) भट्टराई र दाहालबीचको सम्बन्धमा आरोहअवरोह आइरहे। कहिले नजिक त कहिले टाढाजस्तो देखिए पनि यी दुवै नेता एकअर्काका सोहयोगी थिए।

२०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि माओवादीबाट अलग भएका भट्टराईले नयाँ पार्टी खोले पनि उनीहरूले बेलाबेलामा कार्यगत एकता गर्दै आए। त्यो सहयात्रा यतिबेला तोडिने अवस्थामा पुगेको छ।

२०४७ सालमा भट्टराईले मोहनविक्रम सिंहको नेकपा (मसाल) बाट विद्रोह गरी पार्टी छाडे र २०४८ मा एकता केन्द्रमा गए। त्यतिबेला दाहालको नेकपा (मसाल) थियो। २०४८ सालमा गठन गरिएको नेकपा (एकता केन्द) को खुला मोर्चाको संयोजक बने भट्टराई। दाहालले एकता केन्द्रको नेतृत्व गरे।

माओवादी जनयुद्धभर यी दुई नेता एउटै मोर्चामा रहे। २०७२ सालमा संविधान जारी भएपछि भट्टराईले माओवादी छाडेको घोषणा गरे र नयाँ शक्ति गठन गरे। माओवादी छाडे पनि विभिन्न राजनीतिक घटनाक्रममा भट्टराईले दाहाललाई साथ दिए। २०७४ सालको निर्वाचन छाडेर २०६४ पछिका सबै निर्वाचनमा भट्टराईले दाहाललाई साथ दिए। २०७९ सालको निर्वाचनमा दाहालका लागि भट्टराईले आफ्नो क्षेत्र गोरखा–२ नै छाडे।

दाहाल र भट्टराईबीच भएको यो ३२ वर्षको सम्बन्धमा दाहालले भट्टराईलाई पटकपटक उपयोग गरेको र धोका दिएको भट्टराईनिकट व्यक्तिहरूको विश्लेषण छ। भट्टराईनिकट एक नेता तथा नेकपा समाजवादी पार्टी कार्यालयप्रमुख रोशन पोखरेल भन्छन्, ‘उहाँ (दाहाल) को क्षमता भनेको अर्काको क्षमता पहिचान गरी उसको क्षमतालाई आफ्नो हितमा प्रयोग गर्नु हो ।’ पोखरेलका अनुसार ‘अहिले दाहालले भट्टराईमाथि गरिएको व्यवहार धोकाको अर्को घटना हो। उहाँ (दाहाल) को शैली र स्वभाव भनेकै यही हो।’

दाहालले नेसपालाई विभाजन गरी नेसपाका सांसदहरूलाई आफ्नो पोल्टामा ल्याएका छन् भने भट्टराईलाई बाइपास गरेका छन्। दाहालकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको भट्टराई पक्षीय नेताहरूको बुझाइ छ। यद्यपि उनीहरूले यो पटक पार्टी विभाजन नभई नेसपाका केही थोरै व्यक्ति माओवादीमा प्रवेश गर्न लागेको प्रतिक्रिया दिएका छन्।

भट्टराईनिकट जानकारका अनुसार २०५२ को जनयुद्धदेखि २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्म दाहालले भट्टराईलाई प्रयोग गरिरहे। पछिल्लो पटक भट्टराईको प्रभाव क्षेत्र मानिएको गोरखा–२ बाट दाहाल प्रतिनिधिसभामा विजयी भए।

 दाहाललाई चुनाव जिताउन भट्टराईले यस पटक चुनाव नै लडेनन्। दाहाललाई जिताउन उनले हरसम्भव सबै प्रयास गरे र सफल भए पनि। जनयुद्धको दौरानमा दाहालले एकपटक भट्टराईलाई कारबाही गरेका थिए।

भारतसँग १२बुँदे सम्झौता गर्ने बेला दाहालले भट्टराईलाई प्रयोग गरेका थिए। त्यतिबेला माओवादीका अधिकांश शीर्ष नेता भारतमै लुकेर बसेका थिए। यसमा पनि दाहालले भट्टराईलाई प्रयोग गरेको भट्टराईनिकट नेताहरूको बुझाइ छ। जीवनको अत्तरार्धमा भट्टराईलाई माथि ठूलो धोका भएको छ।

अब भट्टराई सानो पार्टीमा खुम्चिएका छन्। उनीसँग भएका धेरथोर नेताहरूलाई दाहालले आफूतिर तान्न लागेका छन्। २ वर्षअघि जनता समाजवादी पार्टी जसपामा विवाद हुँदा भट्टराईलाई साथ दिएका महिन्द्रको यादवको भनाइमा भने यसपटक दाहालले भट्टराईलाई धोका दिएका छैनन्। ‘कसले कसलाई धोका दियो, त्यो पछि थाहा होला यस घटनामा उहाँ (दाहाल)ले भट्टराईज्यूलाई धोका दिनुभएको छैन।’

भट्टराईकै नेतृत्वमा वार्ता कमिटी गठन भएको बताउँदै पार्टीले गरेको निर्णय यस पटक कार्यान्वयन गरिएको उनको प्रतिक्रिया छ।

भट्टराईको राजनीतिक जीवन सन् १९७७ बाट सुरु भएको हो। सन् १९७७ मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष थिए। त्यसयता उनले विभिन्न १२ वटा पार्टी गठन गरिसकेका छन्। सन् १९८१ मा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए। यो उनको पहिलो पार्टी थियो। त्यसपछि उनको जीवनमा पार्टी फेर्ने र नयाँ पार्टी गठन गर्ने क्रम जारी रह्यो।

माओवादी पार्टी स्थापना कालदेखि २०७२ सालसम्म उनी माओवादीमै रहे। आफ्नो राजनीतिक जीवनको अवधिमा भट्टराई संयुक्त राष्ट्रिय जन आन्दोलनको केन्द्रीय प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा रहे। यसैगरी उनी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), संयुक्त जनमोर्चा, नयाँ शक्ति पार्टी, समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा रहे।

संविधानसभाबाट २०७२ साल असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी नेपाल गठन गरेका थिए। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भएको उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भएको थियो।

महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए। तर जसपामा यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला भट्टराईले फेरि नयाँ पार्टी गठन गरेका थिए।

 जसपामा विवाद चर्किएपछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० गते समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। २०७८ फागुन १० गते उक्त पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिएको थियो। तर २०७९ असारमा लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिवर्तन गरी नेसपा राख्ने घोषणा गरिएको थियो।

प्रकाशित: ६ चैत्र २०८० ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App