१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटकीय राजधानी घोषणाले पोखराको ‘ब्राण्डिङ’ हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु ऐतिहासिक अवसर रहेको बताएका छन्। मुलुकको पहिलो पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा आफूलाई हर्ष लागेको उनले बताए।

आइतबार पोखराको फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले यो घोषणाले पोखरालाई मात्र नभई सिंगो गण्डकी प्रदेशसँगै नेपालकै पर्यटन प्रवर्द्धन हुने बताए।

दाहालले उक्त अवसरमा पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरेका थिए। ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले पोखरा बहु आयामिक विशेषता सहितको सहर भएको पनि बताए। तालतलैया, गल्छी, हिमालले पोखरालाई सुन्दर बनाएको प्रधानमन्त्री दाहालको भनाई छ। सेती नदी, फेवाताल, गुफा, मन्दिर, हिमश्रृंखला, पर्यटकीय गाउँ सहित धार्मिक आस्थाले पोखरालाई चिनाएको उनले बताए। पर्यटकीय गन्तव्य बहुमूल्य चिज भएको उनले बताए।

प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित अभ्यास रहेको र यो घोषणाले विश्व पर्यटन बजारमा पोखराको ब्राण्डिङ गर्न सघाउने बताए। त्यस्तै पोखराको पहुँच बिस्तार गर्ने र लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गरि लगानी गर्न पनि सघाउने तथा स्थानीयको जीवनस्तर उकास्नका लागि मद्दत गर्ने उनले बताए। ‘पोखरालाई अब अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्न झनै सघाउनेछ,’ उनले भने।  

पर्यटकीय राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत व्यवस्था गर्ने पनि उनले बताए। प्रदेश सरकार र पोखरा महानगरपालिका तथा निजी क्षेत्रबीच पनि सहकार्य आवश्यक रहेको उनले बताए।

तालैतालको सहरको रुपमा परिचित पोखरा, प्राकृतिक सम्पदा, जैविक विविधता सांस्कृतिक धरोहरको संरक्षणमा ध्यान जानुपर्ने पनि उनले बताए। यसका लागि संघीय सरकारले अभिभावकीय भूमिका निभाउने प्रधानमन्त्री दाहालले वाचा दिलाए। ‘स्थानीय स्तरमा कुशल व्यवस्थापन होस,’ उनले भने।

पर्यटकीय राजधानी पोखराको विकासको लागि सरकारले प्राथमिकता पूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने पनि उनले बताए। पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली र व्यवस्थित र समुन्नत सहरको रुपमा विकास गर्न सरकारले आगामी दिनमा उच्च प्राथमिकता राख्ने उनले बताए।

निजी क्षेत्रका लगानी गर्न र अन्तर्राष्ट्रिय साझेदार भित्र्याउन पनि संघीय सरकारले पहल गर्ने प्रधानमन्त्री दाहलालको भनाई छ। आगामी महिना हुन लागेको लगानी सम्मेलनले पनि यसमा योगदान गर्ने उनको विश्वास छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन नसकेको अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनका लागि सम्बद्ध पक्षसँग सरकारले समन्वय गरिरहेको उनले बताए।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन म आफैले धेरै मेहनत गरेको छु। अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न र यसको खर्चबारे नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प मैले लिएको छु,’ उनले भने।

राजधानी घोषणा गर्नुअघि पोखरामा स्थानीयले झाँकी निकालेका थिए। पोखरा महानगर, पर्यटन व्यवसायी, महिला, आमा समूह, युवा क्लब र विद्यालयले समेत विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराएका थिए। पर्यटन व्यवसायीले राजधानी घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्न सघाउने बताए।

पोखरा महानगरका मेयर धनराज आचार्यले राजधानी घोषणाले आगामी दिनमा थप पूर्वाधार बनाउन दबाब पुग्ने र त्यसको लाभ पोखराले पाउने बताए।

प्रकाशित: ४ चैत्र २०८० १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App