४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

घोराही उपमहानगर: कार्यकर्ता पोस्न चोर बाटोबाट बजेट !

घोराही उपमहानगरपालिका वडा नम्बर-१० स्थित धनपत लयरको घरदेखि पश्चिम तर्फको सडकमा नाला निर्माण गर्ने योजना वडा कार्यालयले सिफारिस नै गरेको थिएन। वडाले सिफारिस नगरेको यो योजना नगर सभाबाट पास पनि भएन। स्थानीय तहमा योजना पास गर्ने उच्च निकाय भनेकै नगर सभा हो। नगर सभाबाट समेत पास नभएको यो योजना एकाएक योजना किताबमा उल्लेख भएर आयो।

योजना किताबमा यो योजना उल्लेख भएर आएपछि मात्रै वडा अध्यक्ष दिपक पाण्डेले थाहा पाए। जबकि वडा तहमा परेका योजना सम्बन्धित वडा अध्यक्षलाई थाहा हुनुपर्ने हो। ‘यो योजना वडाले सिफारिस गरेको पनि थिएन, नत १४ औँ नगर सभाबाटै यो पास नै भएको योजना थियो,’ वडा अध्यक्ष पाण्डेले भने ‘ढोकाबाट ल्याइनु पर्ने योजना झ्यालबाट चोर्ता शैलीमा ल्याइयो, एकै पटक योजना किताबमा उल्लेख भएपछि मात्रै मैले यो योजनाका बारेमा थाहा पाएँ।’

त्यसो त, वडाको योजना कार्यान्वयनका लागि उपभोक्ता समिति निर्माण गरेर वडासँग सम्झौता गर्नुपर्छ। तर यो योजना निर्माणका लागि वडाले अहिले सम्म थाहै पाएको छैन। स्रोतका अनुसार यो योजना निर्माणको काम समेत भइसकेको छ।

‘कुनै पनि वडाको योजनाको काम गर्दा उपभोक्ता समिति निर्माण गरेर वडा कार्यालयसँग सम्झौता गरिनुपर्ने हुन्छ,’ वडा अध्यक्ष पाण्डेले भने ‘तर यो योजना निर्माणबारे अहिलेसम्म वडालाई केही पनि जानकारी छैन, मैले पनि यो योजना निर्माणको काम सम्पन्न भइसकेको छ भन्ने सुनेको छु, यकिन भने छैन।’

यो वडाको यो एउटा योजना मात्रै हैन, यसरी उपमहानगरले वडालाई थाहै नदिई आफू खुसी पारेका योजनाहरु आधा दर्जनको हाराहारीमा छन्। ‘यस्ता योजनाहरु ५,६ वटा छन्, जुन योजना माथिबाटै आफू खुसी आएका हुन्,’ अध्यक्ष पाण्डे भन्छन् ‘यी योजनाहरु कसरी निर्माण पुरा हुन्छन्, त्यो पनि वडालाई थाहा हुँदैन।’

घोराही उपमहानगरपालिका वडा नम्बर-४ कै डाँडा गाउँमा कल्भर्ट निर्माण भनेर ७ लाखको योजना पर्‍यो। यो योजना पनि वडाबाट सिफारिस भएकै थिएन। वडा अध्यक्ष मुनाल घिमिरेले पनि यो योजना एकै पटक योजना किताबमा उल्लेख भएर आएपछि थाहा पाए।

‘नगरकै बजेटमा हालिएको योजना भएपनि वडा अध्यक्षलाई जानकारी हुनुपर्ने हो नि,’ वडा अध्यक्ष घिमिरे भन्छन् ‘नगर सभामा एकै पटक आयो, मैले असन्तुष्टि राखेँ पनि तर पछि कसरी पास भयो, एकै पटक योजना किताबमा उल्लेख भएर आयो।’

उपमहानगरको स्वार्थमा आफ्नो वडाको पारिएको यो योजना निर्माणका लागि सम्झौता गरिदिन वडा अध्यक्ष घिमिरेलाई करै लाग्यो। ‘नत्र विकास विरोधी भनेर आरोप खेप्नुपर्ने हुन्छ,’ उनले भने ‘योजना कसरी आयो, त्यो पनि थाहा छैन, तर सम्झौता भने वडाले गरिदियो।’

वडाको सिफारिस तथा जानकारी बिनै चोर बाटोबाट वडामा पारिएको यो योजनाको काम सम्पन्न भइसकेको छ। तर वडा अध्यक्ष घिमिरेले वडामा कहाँ विकासको आवश्यकता हो भन्ने कुराको जानकारी वडा अध्यक्षलाई हुने भएपनि उपमहानगरका पदाधिकारीहरूले नै आफू खुसी योजना हालिदिँदा मनोपोली हुने गरेको बताउँछन्।

‘आवश्यकताका आधारमा योजना हालिनु पर्छ भन्ने हो, वडामा कहाँ कुन विकास चाहिएको छ भन्ने हामी गाउँमा घुम्ने वडा अध्यक्षहरू लाई थाहा हुने हो नि,’ उनले भने ‘तर आफ्नो स्वार्थका लागि माथिबाटै योजना हालिन्छन्, जबकि हामीलाई थाहै हुन्न, यसको एउटै कारण भनेको उहाँहरुको व्यक्तिगत स्वार्थ र फाइदा नै हो।’

वडालाई जानकारी नै नदिई अझ नगर सभाबाट पासै नभएका योजनाहरु वडामा हालिँदा वडा अध्यक्षहरूले असन्तुष्टि व्यक्त गर्दै आएका पनि छन्। तर उपमहानगरका पदाधिकारीहरू भने आफ्नो स्वार्थ देखिएका स्थानमा आफू खुसी बजेट हालिदिने गर्छन्। घोराही ४ कै गोग्ली सोतामा वडालाई थाहै नदिई हालिएको तटबन्धको योजनाका विषयमा त वडा अध्यक्ष घिमिरेले असन्तुष्टि नै पोखे।

तर उपमेयर हुमा डिसीको स्वार्थमा मात्रै हालिएको यो योजना प्रति राखेको वडा अध्यक्षको असन्तुष्टिको के अर्थ ? झ्यालबाट घुसाइएको यो योजना पास भएरै छोड्यो।

‘यो योजनाका विषयमा उपमेयर र मेरो बिचमा विवाद पनि भएको हो, उहाँको व्यक्तिगत स्वार्थका कारण हालिएको यो योजनाका विषयमा उहाँले आफूलाई चुनावमा भएको सहयोगको ऋण तिरेको आशय राख्नु भएको थियो,’ वडा अध्यक्ष घिमिरेले भने ‘तपाईँको वडाबाट तपाईँलाई मात्रै भोट आएको हो ? मलाई पनि त्यहाँका जनताले भोट हालेका हुन् भनेर उहाँले भन्नु भएको थियो, आफूलाई भोट दिएकै कारण होला नगर सभाबाट पासै नभएको योजना त्यहाँ हालियो।’ यो वडामा पनि अहिले यसरी आफूखुसी हालिएका योजनाहरु ३,४ वटा छन्।

यी दुई वडामा मात्रै हैन, उपमहानगरका सबै वडाहरूमा यस्ता खालका योजनाहरु पुगेका छन्। नगर सभाबाट पासै नभएका योजनाहरु समेत वडामा आफू खुसी हालिनु कार्यकर्ता पोस्ने उपाय हो।

आफूलाई चुनावमा सहयोग गरेकाहरुलाई ऋण तिर्नकै लागि यसरी योजनाहरु गलत बाटोबाट गाउँ पुग्ने गरेको जानकारहरु बताउँछन्। ‘कुन क्षेत्रबाट आफूलाई चुनावमा बढी सहयोग भयो ? त्यहाँ विकासका योजनाहरु हालेर चुनावको ऋण तिर्ने परिपाटी छ,’ एक जनप्रतिनिधिले भने ‘विशुद्ध कार्यकर्ता पोस्ने नियतका साथ नै यसरी चोर बाटो बाट योजनाहरु गाउँ पुग्ने गरेका हुन्, यसमा अरु कारण केही पनि छैन।’

घोराही उपमहनगरको विकट वडाका रुपमा चिनिने १९ नम्बर वडाका वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले वडा सरकारको नेतृत्व गरिरहँदा आफूले काम गर्न नसकिरहेको महसुस गरिरहेका छन्।

यो महसुस होओस् पनि कसरी ? उपमहानगरका पदाधिकारी वडामा हाबी भइदिएका छन्। फलतः उनी आफूलाई निरीह अध्यक्षका रुपमा चिनाउँछन्। वडा अध्यक्ष रायमाझीले १० बढी योजनाहरु उपमहानगर समक्ष सिफारिस गरेका थिए। १० बढी सिफारिस भएका योजना मध्य उपमहानगरले एउटा योजना मात्रै पास गरिदियो।

वडा अध्यक्ष रायमाझीले प्रस्ताव गरेका अरु सबै योजनाहरु फालिए। अनि उपमहानगरबाट सिधै अरु योजनाहरु यो वडामा पारिए। ‘हामीले वडाबाट प्रस्ताव गरेका १० भन्दा बढी योजना मध्य एउटा मात्रै पास भयो, हामीले सिफारिस गरेका अरु सबै योजना फालिए,’ वडा अध्यक्ष रायमाझीले भने ‘तर कार्यकर्ता आफन्तीको भनसुनका आधारमा उपमहानगरबाट योजनाहरु छिराइए, जबकि उपमहानगरले आफै हालिदिएका योजनाहरु मध्य मैले सिफारिस गरेको एउटा योजना पनि थिएन।’

आफूले सिफारिस गरेका योजनाहरु फालिए, तर उपमहानगरले आफू खुसी पारेका योजनाहरु सम्झौता गर्न भने उनलाई करै लाग्यो। ‘के गर्नु वडामा आएका योजनाहरु पास गरिदिनु हाम्रो दायित्व हो,’ उनले भने ‘तर वडामा उपमहानगरका पदाधिकारीहरू यसरी हाबी भइदिँदा हामी वडा अध्यक्षहरूलाई काम गर्न धेरै अप्ठेरो परिरहेको छ।’

उनले आफू अनुकूल मेयर तथा उपमेयर नहुँदा सम्म काम गर्न सहज नहुने बुझेका छन्। ‘कार्यकर्ताकै भनसुनका आधारमा योजनाहरु वडामा पठाइदिने तर वडा अध्यक्षले प्रस्ताव गरेका योजनाहरु फालिदिने भनेको त हाम्रा लागि धेरै जटिल कुरा हो नि,’उनले भने ‘मैले एउटा कुरा बुझेको के हो भने उपमहानगरका मेयर र उपमेयर आफ्नो अनुकूलका भएनन् भने वडा अध्यक्षलाई काम गर्न सजिलो नहुँदो रैछ।’

वडाको कार्यालय सहयोगी समेत नियुक्त गर्न नभएको दुखेसो समेत उनले पोखे। कार्यालय सहयोगी समेत उपमहानगरले आफै तोकेर पठाइदिएको छ। ‘वडाको कार्यालय सहयोगी राख्न सम्म मैले पाएन,’ उनले भने ‘उपमहानगरले नै तोकेर पठाइदियो, आफै सोच्नुस् हाम्रो घोराही उपमहानगर हाम्रो वडामाथि कति गलत तरिकाले हाबी भएको होला ?’

यता आफूखुसी बजेट वडातह सम्म हाल्ने उपमहानगर भने आफ्नो कर्मलाई सफा नियतका रुपमा बढाइचढाइ गरिरहेको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले नियमानुसार नै वडा तहमा विकासे योजनाहरु पुगेको दाबी गर्छन्।

‘नगर सभाबाटै पास भएका योजनाहरु कार्यान्वयनमा जाने हुन्,’ उनले भने ‘नियम भन्दा बाहिर गएर योजना हाल्ने कुरा हुँदैन नि।’

प्रकाशित: ३ चैत्र २०८० १६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App