२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ: प्रधान सेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरुका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताएका छन्।

प्रधान सेनापति शर्माले बुधवार सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित सिस ९ उच्चस्तरीय राष्ट्रिय तालिमको शुभारम्भ गर्दै उक्त धारणा व्यक्त गरेका हुन। उनले संवेदनशील, भूराजनीति, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा हेरिन गरिएको पनि उल्लेख गरे।

‘अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरू बिचको ध्रुवीकरण बढ्दै जानुका साथै विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको छ’, उनले भनेका छन्, ‘विश्वका शक्ति राष्ट्रहरू बिचको प्रत्यक्षरपरोक्ष टकराब, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको छ।’

शर्माले विश्वको बद्लिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरूलगायत सम्बन्धित योजनाहरू तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेको समेत उल्लेख गरे। उनले तालिमका सहभागीहरूलाई परम्परागत र अपरम्परागत सुरक्षा चुनौतीहरूको सँगसँगै पहिचान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षामा यस्ता तत्त्वहरूको महत्वलाई सूक्ष्म र गहन तवरबाट विश्लेषण गर्न अनुरोध पनि गरे।

शर्माले श्रम आप्रवासन, युवाहरूको पलायन, विभिन्न युद्धरत देशहरूका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरू, चुरे विनाशका कारण तराईमा परिरहेको असर, त्यसबाट खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको उल्लेख गरे।

‘सूचना प्रविधि एवं एआईमा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनः परिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नविनतम प्रविधिले ल्याएको समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई सम्बोधन गर्न उत्तिकै जरुरी छ’, उनले भने।

यसैगरी रक्षा सचिव किरणराज शर्माले देशको सुरक्षामा खलल पुर्‍याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरूलाई एकीकृत रूपमा समन्वयात्मक ढङ्गबाट सामना गरिएमा मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति समेत प्रभावकारी हुने बताए। ‘विशेषतः उच्च पदस्थ अधिकारीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बद्ध महत्त्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामहरू लगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुनेछ’, उनले भने। 

प्रकाशित: ३० फाल्गुन २०८० १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App