१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रमजानमा प्रधानमन्त्रीको शुभकामनाः यस पर्वले आपसी सद्भावलाई थप बलियो बनाउन मद्दत गर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्लिम धर्माबलम्बीहरूको महान पर्व रमजान सुरु भएको अवसरमा शुभकामना दिएका छन्।

मङ्गलवारदेखि सुरू भएको रमजान अर्थात् रोजा पर्वको अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायतमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना गरेका छन्।

एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बीहरू सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गरेको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि हो। रमदानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ। यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको  उनको शुभकामनामा भनिएको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सदैव प्रतिवद्ध रहेको उनले बताए।

प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।’  

प्रकाशित: ३० फाल्गुन २०८० ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App