२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?

राष्ट्रियसभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा भएको दस्तखतसहितको मत विभाजनमा दाहालको पक्षमा बहुमत पुगेको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा मतदानमा ५६ जना सहभागी थिए। दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो। दाहालका प्रतिस्पर्धी कांग्रेसका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो। शर्माको पक्षमा बहुमत नपुगेपछि उनको प्रस्ताव अस्वीकृत भएको थियो। 

माओवादी पार्टीमा आबद्ध भए पनि राष्ट्रपतिबाट मनोनीत सांसद दाहाललाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) ले मत दिएका थिए। अर्का मनोनीत सांसद वामदेव गौतमले पनि दाहाललाई मतदान गरेका थिए। राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले भने कतै पनि मतदान गरेनन्।

‘नो भोट’ को व्यवस्था नभएका कारण उनी आफ्नो सिटमा बसिरहेको उनले बताए। कांग्रेसका उम्मेदवार शर्मालाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मत दिएको थियो। राष्ट्रियसभामा कांग्रेसका १६ जना, एमालेका १० जना, माओवादी केन्द्रका १७ जना, नेकपा एसका आठजना, जनता समाजवादीका तीनजना, मनोनीत नारायणप्रसाद दाहाल र मनोनीत वामदेव गौतम गरी दुईजना, लोसपाबाट एकजना, राष्ट्रिय जनमोर्चा एकजना गरी ५८ जना छन्। एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ।

मंगलबार बिहान साढे ११ बजे बसेको बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्ताव गर्नु र समर्थन गर्नुको कारण बताएपछि दलीय रूपमा उमेदवारको पक्ष–विपक्षमा छलफल भएको थियो। त्यसपछि दुवै प्रस्तावमा लिखित दस्तखतसहित मतदान भएको थियो। पहिला उमेदवारी दर्ता गरेकाले शर्माको प्रस्तावमा मतदान भएको थियो।

उनको प्रस्ताव अस्वीकृत भएपछि दोस्रो चरणमा दाहालको प्रस्तावमा मतदान भएको थियो। दोस्रो प्रस्तावमा मतदान हुँदा दाहालको पक्षमा बहुमत पुगेपछि सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले १ बजेर २६ मिनेटमा राष्ट्रियसभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएको घोषणा गरेकी थिइन्।

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण संस्था बनाउन प्रयत्न गर्ने बताए। अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने बताए। निर्वाचित भएलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरे। त्यसपछि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेका राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा पुगी पदभार ग्रहण गरेका थिए।

भरतपुर महानगरपालिका वडा १४ भीमसेन नगरका दाहालले यसअघि २०६३ सालको अन्तरिम व्यवस्थापिकामा सांसद थिए। भने २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादी पार्टीका तर्फबाट चितवन– ३ मा निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सो स्थानबाट पराजित भएका थिए। २०७३ सालमा दोस्रो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनले प्रशासनिक सल्लाहकारका रूपमा काम गरेका थिए।

उनी २०२७ सालदेखि अनेरास्ववियु सदस्य थिए भने २०३५ सालमा पार्टी सदस्य, २०३६ सालदेखि राजनीतिक काममा पूर्णकालीन तथा २०५७ देखि हालसम्म पार्टी केन्द्रीय सदस्य छन्। पार्टीका विभिन्न विभिन्न मोर्चामा काम गरेको उनको अनुभव छ। २०१२ फागुन १२ मा जन्मिएका हुन्। उनकी आमा देउरूपमा दाहाल हुन् भने बाबु कुलप्रसाद दाहाल। माओवादी सशस्त्र युद्धमा पनि उनले ठुलो योगदान पुर्‍याएका थिए। उनी नाताले प्रधानमन्त्री दाहालका भाइ पर्छन्। उनी प्रधानमन्त्री दाहालका सहोदर भाइ नभएर काकाका छोरा हुन्।

प्रकाशित: ३० फाल्गुन २०८० ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App