२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आज तेस्रोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको छ।

छलफलपछि सभामुखले विश्वासको मतलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय हुनेछ। पक्षमा बहुमत पुगे उनले संसद्बाट विश्वास पाउनेछन् ।

कुल २७५ सदस्यीय संसद्मा हाल कायम २७४ सदस्य छन् । बहुमत पुग्न १३८ मत आवश्यक पर्छ।

फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, जनता समाजवादी पार्टी (जसपा) १२, नेकपा एकीकृत समाजवादी (नेकपा एस) १० गरी १५४ सांसद छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चार सांसद छन्। यो पार्टीले सरकारलाई समर्थन गर्ने बताए पनि पार्टीभित्रको विवादले अनिर्णीत अवस्था छ। आम जनता पार्टीका प्रभु शाह र स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि पक्षमा मतदान गर्ने सम्भावना छ। तर उनीहरू खुलेका छैनन्।

प्रधानमन्त्रीको विपक्षमा नेपाली कांग्रेसको ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १४, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ गरी ११४ मत देखिन्छ।

प्रधानमन्त्रीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा र २ मत विपक्षमा परेको थियो।

माओवादी र एमालेसँगको गठबन्धनमा कांग्रेसले पनि पक्षमा मत हालेको थियो। त्यसको महिना दिनपछि नै पुनः माओवादी र कांग्रेससँगको गठबन्धन बनेपछि चैत ६ गते प्रधानमन्त्रीले संविधानको धारा १०० को २ बमोजिम विश्वासको मत लिएका थिए। यसमा २६५ उपस्थित थिए भने पक्षमा १७२ मत परेको थियो भने एमालेसहितका केही दलले विपक्षमा मतदान गरेका थिए। विपक्षमा ८९ मत परेको थियो भने एक तटस्थ मत परेको थियो।

प्रकाशित: ३० फाल्गुन २०८० ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App