१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मिल्लान् त ओली र नेपाल ?

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव नेपाल दुवैले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र कम्युनिस्ट पार्टीका चुनौती सामना गर्न एकताको आवश्यकता महसुस गरी पहल थालेका हुन्।

‘एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बबरमहलस्थित होटल बसेरामा भएको भेटघाटले धेरै कुरा आत्मसात् गरेको छ। दुवै नेतालाई गल्ती महसुस भएको छ। दुवै नेतामा रहेको अविश्वास हटाउने वातावरण बनाउने प्रयास भएको छ।

यसले अन्ततः दुई पार्टीको एकता प्रक्रिया अघि बढ्ने निश्चित देखिएको छ,’ एमालेका एक पदाधिकारीले भने। दुई नेताबीच शनिबार साँझ होटल बसेरामा भेट भएको थियो। दुई वर्षअघि एमालेबाट विभाजित भएर नेता नेपालले नेकपा एस गठन गरेका थिए।

भेटमा दुवै नेताले आगत–विगतको समीक्षा गरेका थिए। ‘दुवै नेताहरूको सम्बन्ध करिब ४९ वर्ष पुरानो हो। तर दुई वर्षअघि एकले अर्कालाई गाली गरेर नथाक्ने चरणमा पुगे।

अहिले त्यसबाट मुक्त भएर अघि बढेका छन्। यसले सकारात्मक परिणाम ल्याउनेछ,’ एमालेका ती पदाधिकारीको दाबी छ। एमाले र नेकपा एसबीच एकीकरण भए संसद्मा एमाले ठुलो पार्टी बन्नेछ। अहिले प्रतिनिधिसभामा एमाले ७९ र नेकपा एसका १० सांसद छन्।

‘दुवै नेताहरूमा अविश्वास छ, पहिला विश्वास गर्ने आधार बनोस् अनि एकता प्रक्रियाको कुरा अघि बढाउँला,’ नेकपा एसका एक पदाधिकारीले भने। नेकपा एससँग एकताका लागि एमाले अध्यक्ष ओली पनि सकारात्मक छन्। ओली मात्र होइन, नेकपा एसका अधिकांश नेता पनि सकारात्मक छन्। नेकपा एसका तल्लो तहका नेता–कार्यकर्ता एमालेमा फर्कन थालेपछि माथिल्लो तहका नेताहरूले पार्टी एकताका लागि पहल थालेका हुन्।

ओली र नेपालबीच करिब अढाई वर्षपछि शनिबार साँझ ‘सम्बन्ध सुधार’का लागि ‘वान टु वान’ वार्ता भएको हो। तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएपछि सम्बन्धमा दरार उत्पन्न भएको थियो। ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास भएपछि उनले दुई पटक संसद् विघटन गरेका थिए। दुई पटक नै सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि ओली र नेपालले फरक बाटो लिएका थिए। त्यसयता उनीहरूबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ।  

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विघटन गरिदिएपछि एमाले र माओवादी पनि अलगअलग भए। यी दुई दल मिलाएर नेकपा नाम राखिएको थियो। अदालतको फैसलापछि एमाले पूर्ववत अवस्थामा फर्किएपछि ओली र नेपाल समूहबीच ठुलै गुटबन्दी भयो। अन्ततः २०७८ भदौ ९ गते एमालेबाट नेपाल अलग भए, उनकै अध्यक्षतामा नेकपा एस बन्यो। त्यसपछि ओली र नेपालबीच हदैसम्मको तिक्तता सुरु भयो। ओलीले नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्ने अभिव्यक्तिसमेत दिन भ्याए।

तर पछिल्लो समय सबै तिक्तता बिर्सन र नयाँ ढंगले संश्लेषण गरेर जाने विषयमा दुई नेता सहमत भएको दाबी दुवै पार्टीका नेताहरूले गरेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुवै नेता संवादको चरणमा रहेको बताए। ‘एकअर्काको अस्तित्व स्वीकार गर्दै सम्बन्ध सुधारको दिशामा गए दुई पार्टीबीच एकता नहुने भन्ने हुँदैन,’ गौतमले भने।

उनका अनुसार तत्काल सरकार सञ्चालनका लागि नेपालका कम्युनिस्ट पार्टीहरूबीच कार्यगत एकता भएको र यसलाई कसरी व्यवस्थित गरेर लैजाने भन्नेबारे नेताहरूबीच छलफल भएको हो। ‘अहिलेसम्म पार्टी एकताबारे कसैले प्रस्ताव गरेको छैन तर पार्टी एकता नहोला भन्ने छैन’, गौतमले भने।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पार्टी एकताको विषयमा एमालेबाट प्रस्ताव नआएको बताए। पार्टी एकताको प्रस्ताव आएको छैन, दुई नेताहरूबीच भेटघाट हुँदैमा पार्टी एकताबारे छलफल हुन्छ भन्ने पनि छैन,’ खतिवडाले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एकताको प्रस्ताव ल्याउनुभएको छैन। यताबाट माधव नेपालले पनि राख्नुभएको छैन।’

२०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबीच बोलचाल बन्द थियो। पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठुलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी र नेताबीच सम्बन्ध झनै चिसियो।

यही फागुन २१ मा बनेको एमाले र माओवादीसहितको नयाँ समीकरणमा नेकपा एस पनि मिसिएको छ। गठबन्धनमा सहभागी हुन ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेपछि नेकपा एसका अध्यक्षले सरकारमा सहभागी हुने निर्णय पार्टीबाट गराएका हुन्।

१५ वर्ष एमालेको महासचिव र पछिल्लो कालखण्डमा वरिष्ठ नेता रहेका नेपालले ओलीसँग मतभेद भएकै कारणले पार्टी विभाजन गरेका थिए। झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेपाल अहिले ७१ वर्षको उमेरमा हिँड्दैछन्। एमाले बनाउन विगतमा उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपालले पार्टी विभाजनमा हस्ताक्षर गरेका थिए।

त्यसैगरी पछिल्लो पुस्ताका जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायत नेता पनि नेकपा एसमै छन्। नेकपा एसका रूपमा नयाँ पार्टी बनेपछि करिब २० हजार नेता–कार्यकर्ताको सक्रियता त्यसमा रहेको जनाइएको छ। पार्टी एकता भए एमालेले माधव नेपालसहित २० हजार नेता–कार्यकर्ताको व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App