१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्को प्रतिपक्षी बेन्चमा कांग्रेस

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नयाँ गठबन्धनका आधारमा सिट व्यवस्थापन गरिएको छ। संसद् सचिवालयले सम्बन्धित दलसँग जानकारी लिएपछि सिट व्यवस्थापन गरेको हो।

सिट व्यवस्थापन बमोजिम बिहीबार ११ बजे बोलाइएको बैठकमा सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, आम जनता पार्टीलाई राखिएको छ भने प्रमुख प्रतिपक्षदलमा कांग्रेस र प्रतिपक्षी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालाई राखिएको छ।

प्रतिनिधिसभाको बैठकमा शून्य समय र विषेश समयमा बोल्नका लागि समय दिने सभामुखको तयारी छ। तर, बैठक बस्नुअघि प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेपछि यसबारे निर्णय हुने संसद् सचिवालयले जनाएको छ। 

पुरानो गठबन्धन बमोजिमको सरकारका समयमा बनाइएको संसद्को तालिका भने प्रभावित भइरहेको छ। फागुनको १, २२, २३ र ३० गतेसम्म बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) का विषयमा छलफल गर्ने कार्यक्रम अवरुद्ध भएपछि अब अर्को तालिका बनाउनुपर्ने अवस्था आइपरेको छ।

प्रि–बजेटमाथि छलफल गर्ने विषय नहुँदा संसदको कार्यसूचीमा राखिने विषयमा पनि समस्या परेको छ। बिहीबारको बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आव २०७९-८० को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। कार्यसूचीमा राख्ने विषय नभएपछि बिहीबारपछि अर्को बैठक सात दिन पछि फागुन ३० गतेसम्म स्थगित हुने भएको स्रोतले बतायो।

यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट ) माथिको अवरुद्ध भएको छलफल पुनः सुरु गर्नका लागि सभामुखले सरकारको सल्लाह बमोजिम छलफल गर्ने दिन निर्धारण गर्ने तयारी गरेका छन्।

अर्थमन्त्रीमा वर्षमान पुनः नियुक्त भएकाले अब यसअघिका अर्थमन्त्री डा.महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने वा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने विषयमा भने सरकारको निर्णयमा भर पर्ने संसद् सचिवालयले जनाएको छ। नयाँ सिद्धान्त र प्राथमिकता पेस गर्ने भए संसदमा टेबुल भएको यसअघिको बेटको सिद्धान्त र प्राथमिकता फिर्ता लैजानुपर्ने हुन्छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App