१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवालाई दाहालको तेस्रो ‘सरप्राइज’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला ६ वर्षमा नेपाली कांग्रेसलाई तीन सरप्राइज दिएका छन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकार छाडेर दाहाल कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए। कांग्रेससँगको सहमतिअनुसार दाहालले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गरे। तर, देउवा नेतृत्व सरकारमा सहभागी रहेको माओवादीले नयाँ संविधानअनुसार हुन लागेको निर्वाचनमा चुनावी तालमेल भने विपक्षी एमालेसँग गर्ने निर्णय गर्‍यो।

कांग्रेससहित दलसँग मिलेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेर माओवादीले २०७४ असोजमा प्रमुख प्रतिपक्षी एमालेसँग ६० र ४० का आधारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्‍यो। र, कांग्रेसलाई पहिलो सरप्राइज दियो।

दुई ठूलो दल मिल्दा २०७४ मंसिरमा भएको आम निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जम्मा २३ सिट मात्र जित्यो। निर्वाचनपछि एमाले र माओवादी केन्द्रसहितका दलहरूको गठबन्धन सरकार बन्यो। २०७५ जेठमा दुई पार्टी मिलेर नेकपा गठन भयो। तर, दुई पार्टी एकीकरणको काम पूरा नहुँदै सत्ता विवादले माओवादी र एमाले आआफ्नो बाटो लागे।

त्यसको असर एमालेसमेत विभाजन हुन पुग्यो। र, माधवकुमार नेपालसहितका नेताहरूले नेकपा एकीकृत समाजवादी गठन गरे। सरकारको नेतृत्व गरेका केपी ओलीको संसद् विघटन गर्ने निर्णयविरुद्ध कांग्रेसलाई साथमा लिगेर अदालत गए। अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री बने।

माओवादी, एकीकृत समाजवादीसहित दलहरू रहेको गठबन्धन मिलेर नै स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे। निर्वाचनपछि सरकार गठनलाई लिएर माओवादी र कांग्रेसबीच दुरी बढ्यो। एमाले समर्थनमा दाहाल २०७९ पुस १० गते अनपेक्षित रूपमा सरकारको नेतृत्वमा पुगे। र, दाहालले कांग्रेसलाई दोस्रो सरप्राइज दिए।

त्यसको केही दिन बित्न नपाउँदै दाहाल कांग्रेससँग नजिकिए। संघ देखि प्रदेशसम्म सत्ताच्युत बनेको कांग्रेस सरकारमा फिर्ता भयो। राष्ट्रपतिमा पार्टी नेता रामचन्द्र पौडेललाई पुर्‍याउन सफल भयो। पूर्व सहमतिअनुसार गठबन्धनलाई अघि बढाउँदै कांग्रेस सभापति देउवा फेरि सरकारको नेतृत्व गर्ने पक्षमा थिए। र, उनी आफू गठबन्धनप्रति प्रतिबद्ध देखिएका थिए। तर, दाहालले फेरि कांग्रेस र खास गरी शेरबहादुर देउवालाई विगतका दुई जस्तै सोमबार तेस्रो सरप्राइज दिँदै गठबन्धन तोडे। र, मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराए। फलस्वरूप कांग्रेस सत्ताबाहिर हुन पुगेको छ।

प्रकाशित: २२ फाल्गुन २०८० १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App