५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छिन्।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन्। 

उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन्। कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने उनको भनाइ छ। संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने उनले बताइन्। उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिइन्। उनले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन्।

उनले भनिन्,‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो। अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ। कुनै पार्टीगत स्वार्थ होइन। कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन। सबै जना मिलेर जनताको हितको लागि काम गर्नुपर्‍यो। राम्रो कानुन बन्नुपर्‍यो। राम्रो नीति निर्माण गर्नुपर्‍यो। जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन। सबै ठाउँमा जानुपर्‍यो। विकटलाई पहिलो प्राथमिकता हुनुपर्‍यो भन्ने नै मेरो धारणा छ। मिटरब्याजी/लघुवित्त पीडितको माग समयमै पूरा हुनुपथ्र्यो। हरेकले नियम, कानून र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरु पनि। तर उहाँहरुलाई पीडा छ। भोक छ। भोको पेटले आदर्श भन्दैन। त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरुको मागलाई विचार गर्नुपर्छ। जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन। कानूनलाई मान्नुपर्छ। अनुशासनलाई मान्नुपर्छ। सबैको यो जिम्मेवारी हो।’

प्रकाशित: १८ फाल्गुन २०८० १८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App