१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा सोमबारदेखि २० नयाँ सांसद

पुराना भन्छन्, राष्ट्रियसभाको ओज बढाउने काम होस्

राष्ट्रियसभाको छ वर्षे कार्यअवधि पूरा हुनै लागेका सदस्यले संसद्को ओज र गरिमा खस्केको बताएका छन्। संसदीय अभ्यासका क्रममा प्राप्त गरेका अनुभवबारे बिहीबारको बैठकमा धारणा राख्दै सांसदहरूले सभाको ओज खस्केपनि राष्ट्रियसभामा आफूहरूले भने महत्त्वपूर्ण अनुभव हासिल गरेको बताएका थिए।

आगामी फागुन १९ गते छ वर्षे कार्यकाल भएका कुल २० जना सांसदको पदावधि सकिँदैछ। आफ्नो अनुभव राख्ने क्रममा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी थापा रावल (पार्वती) ले अब तेस्रोपटक राष्ट्रियसभाको नियमावली संशोधन हुँदैछ भन्दै यसले राष्ट्रियसभाको गरिमा उचाइमा पुर्‍याउने छ भन्ने विश्वास व्यक्त गरिन्।

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले संसदप्रति सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन यो सभाले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सदन र समितिलाई आधुनिक बनाउँदै लैजानुपर्ने बताए।

सांसद इन्दु कडरियाले कौतहुलता र उत्साहका साथ सदन प्रवेश गरेको दिन सम्झँदै सभामा केही असंसदीय अभ्यास भएको प्रति दुख व्यक्त गरिन्। उनले आगामी दिनमा संसद्मा गैरसंसदीय अभ्यास नगर्न सुझाव दिइन्।

उनले भनिन्, ‘गैरसंसदीय अभ्यास पनि अनुभव गरियो, सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत ससदको भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो , अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु।’

सांसद खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालय सरह रहेको बताए। आफू बैठकको करिब ९४ प्रतिशत अर्थात् एक सय ३० दिन उपस्थिति जनाएको उनले बताए।

उनले भने, ‘मैले १३ घण्टा बढी बोलेको छु, औषतमा अन्य सदस्यभन्दा यो तीन गुणा बढी समय हो। स्थानीय तह र प्रदेशका सरोकारका विषयमा बोल्ने अवसर पाएँ।’

सांसद महेशकुमार महराले सभाको ओज र गरिमा बढाउनतर्फ राजनीतिक नेतृत्व लाग्नुपर्ने बताए। राष्ट्रियसभाका आफ्ना सीमाका कारण यसको ओज घटेकाले संविधान संशोधन गरेर भए पनि यसलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनले बताए।

उनले भने, ‘विगतमा जनसरोकारका मुद्दा उठाउँदा सरकार मौन रहेको देखियो। सांसदले राखेका समस्याप्रति पछिल्लो सरकार गम्भीर हुनुपर्छ।’

सांसद सूर्यबहादुर विश्वकर्माले जनताको आवश्यकता, चाहना र भोगिरहेका समस्या सम्बोधनका लागि सरकार र सदनको ध्यानाकर्षण गराएको बताए।

 सांसद सिंहबहादुर विश्वकर्माले जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा केन्द्रीत भएर राष्ट्रियसभाले आगामी दिनमा भूमिका खेल्नु पर्ने बताए। सांसद दीपा गुरुङले जनता र देशको समस्यालाई हल गर्नुपर्ने ठाउँ राष्ट्रियसभामा आफूलाई पठाइएको थियो भन्दै आफ्नो अनुभवमा राष्ट्रियसभाले पाकोपना झल्किने काम गरेको बताइन्।

सांसद नरपति लुवारले प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिमा रहेर सरकारले आश्वासन दिएका विषयलाई कार्यान्वयनको कसीबाट अध्ययन गरी कमिकजोरीलाई नियाल्ने अवसर पाएको कुरा आफ्ना लागि महत्त्वपूर्ण भएको बताए।

सांसद कुमार दसौदीले सदनमा उठेका मुद्दाप्रति सरकार गम्भीर नभएको बताए। सांसद हरिराम चौधरीले राष्ट्रियसभाको अस्तित्वबारे उठ्ने प्रश्नलाई चिर्दै यसको गरिमा बढाउन सुझाव दिए। जनताका विषयमा उठेका कुरालाई सरकारले जिम्मेवारीपूर्वक जवाफ नदिएको अनुभव रहेको बताए। 

प्रकाशित: १८ फाल्गुन २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App