१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री अनुपस्थित हुँदा प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभा सचिवालय भवन।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका कारण प्रदेशसभा बैठक स्थगित भएको छ।

प्रदेशसभा बैठकअघि बोलाइएको सर्वदलीय बैठकमा मुख्यमन्त्री अनुपस्थित भएपछि बुधबारका लागि तय भएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको हाे। 

बिहान साढे ११ बजेका लागि बैठक बस्ने तय भएपनि दलहरुबीच सहमति जुट्न सकेकाे थिएन। पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै नेकपा एमाले सहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए।

यही विषयमा छलफलका लागि भन्दै आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री जमरकट्टेल नै अनुपस्थित भए। सर्वदलीय बैठक बस्न नसकेपछि संसद्को बैठक समेत चलेन।

मुख्यमन्त्री जमरकट्टेल बिहान एउटा टेलिभिजनको कार्यक्रममा व्यस्त रहेका थिए। त्यसपश्चात् राक्सिराङ गाउँपालिकामा एउटा कार्यक्रममा सहभागी हुन गएको बताइएको छ।

प्रतिपक्षी दलका सांसद्हरुले मुख्यमन्त्रीले सर्वदलीय र प्रदेशसभा बैठकलाई भन्दा अन्य कार्यक्रमलाई नै महत्त्व दिएको भन्दै आक्रोश व्यक्त गरे। प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएका थिए। 

मुख्यमन्त्री जमरकट्टेल नेतृत्वको सरकारले असार १ गते ६२ अर्ब ७० करोडको बजेटमा ल्याएकोमा प्रतिपक्षी दलका सांसद्ले सरकारले बजेटमा विभेद गरेको, मन्त्री र प्रभावशाली नेताहरुले गृह जिल्लामा मात्र बजेट विनियोजन गरेको आरोप लगाउँदै आएका थिए।

सत्तापक्षले विपक्षी दलहरुले उठाएको विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन भने नभएको एमालेको आरोप छ। एमाले र राप्रपाले पटक-पटक सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका छन्। एमालेले पूरक बजेट ल्याउनुपर्ने आवाज समेत उठाइरहेको छ।

असोज २२ गते स्थगित भएको प्रदेशसभा बैठक साढे ४ महिनापछि मंगलबार बोलाइएको थियो। हिउँदे अधिवेशनको पहिलो बैठकमा मंगलबार शुभकामना दिने क्रममा विपक्षी दलका नेताहरुले सरकार बहाना बनाएर सहमति कार्यान्वयनबाट पन्छिन खोजेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए। 

बैठक अब बिहीबार बिहान साढे ११ बजे बैठक बस्ने उल्लेख छ। 

प्रकाशित: १६ फाल्गुन २०८० १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App