१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जनमतद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

मधेस प्रदेशसभाको आज बसेको बैठक जनमत पार्टीका सांसदहरूको नाराबाजीका कारण अवरुद्ध भएको छ।

जनमतका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै बेल घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले दश मिनेटका भन्दै बैठक स्थगित गरेका छन्।

सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गरे लगतै जनमतका सांसद चन्दन सिंहले उठेर एक महिनाअघि सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवमाथि भएको भनिएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेका थिए।

यो विषयलाई दलीय बैठकमा समाधान गर्ने अहिले संसद् चल्न दिन सभामुख मण्डलले पटकपटक आग्रह गर्दा पनि जनमतका सांसदरूले बेवास्ता गरेका थिए।

जनमतका सांसद सिंहले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो। त्यो सहमति कार्यान्वयन हुनुपर्छ।’

सहमतिअनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने जनमत सांसदहरूको जिद्दी छ।

सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्धको जिद्दी नगर्न आग्रह गर्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए।

मन्त्री साह रोस्टममा जान लागेपछि जनमतका सांसदहरू बेल घेर्दै मुख्यमन्त्रीको राजीनामा माग्दै नाराबाजी गर्न थले। सभामुखले दश मिनेटका लागि स्थगित गरेको बैठक अझै सुरु भएको छैन।

प्रकाशित: १५ फाल्गुन २०८० १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App