१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘महासमिति बैठकबाट पार्टीमा नयाँ ऊर्जा थपिएको छ’

नेपाली कांग्रेसले संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको समावेशी संविधानको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

 फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको जनाएको हो। त्यसलाई हृदयंगम गर्दै नेपाली जनताले गरेका क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत विकास गर्नेमा पनि जोड दिएको छ।

 शान्तिप्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुंयाउने प्रतिबद्धता जनाउँदै कांग्रेसले भनेको छ, ‘भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध वैधानिक रूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गर्दछ।’

अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै कांग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिकाप्रति सचेत रहेको जनाउँदै कांग्रेसले किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी न्याय दिलाउन सरकारलाई ध्यानाकर्षण गराउने पनि उल्लेख छ।

त्यस्तै ‘राजनीतिक स्थायित्व, रूपान्तरण नवीनता ! स्वतन्त्रता, न्याय र समानता ! नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता !’ उद्घोषका साथ सुरु भएको महासमिति बैठक उत्साहका साथ सम्पन्न भएको दाबी कांग्रेसले गरेको छ। ‘यो बैठकबाट हासिल नवीन ऊर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिबद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ,’ कांग्रेसले भनेको छ। २ हजार ३७३ जना सहभागी बैठकमा कोसी र सुदूरपश्चिम प्रदेशका ४८४ जना सहभागीमध्ये १६२, मधेस र कर्णाली प्रदेशका ५१३ जना मध्ये ११८ जनाले आ–आफ्ना धारणा राखेका थिए।

त्यस्तै बागमती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ४०३ मध्ये १३३ जना सदस्यले आफ्नो धारणा राखेका थिए। प्राप्त विचार, धारणा र सुझावका आधारमा विभिन्न आठ विषयमा प्रतिबद्धता, संकल्प, आत्मसात् गर्दै महासमिति बैठकमा आएका सुझावलाई समेट्ने गरी प्रतिवेदनहरू पारित भएको जनाएको छ। केन्द्रीय समितिले त्यसलाई परिमार्जनसहित पारित गर्ने कांग्रेसले जनाएको छ।

महासमितिमा आएका विचार, धारणा र सुझावले पार्टीको नीतिले नेपाल र नेपाली जनतामा पार्टीको स्पष्ट, नवीन विचार र सांगठनिक कार्यक्रमको खाका पस्कने उल्लेख गरिएको छ। ‘यसबाट पार्टी सदस्यबीच ऊर्जा र उत्साह भर्दै मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक–सामाजिक रूपान्तरण, धार्मिक–सामाजिक एवं सांस्कृतिक सद्भाव वृद्धि गरि समाजमा सकारात्मक आशा, विश्वास र भरोसा जगाउनेछ,’ कांग्रेसले भनेको छ।

प्रकाशित: १२ फाल्गुन २०८० ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App