३० चैत्र २०८० शुक्रबार
राजनीति

जनक्रान्तिका सहिद थिरबम मल्ल

सहिद थिरबम मल्ल। फाइल तस्बिर: नागरिक

तत्कालीन पर्वत राज्य चौबिसे राज्यमा सबैभन्दा शक्तिशाली मानिन्थ्यो। विसं १६३१ सालमा पर्वतका राजा नारायण मल्लका जेठा छोरा जितारी बम मल्लले अंशको रूपमा गलकोट राज्य पाए। उनका तीन छोरामध्ये माहिलाले लमजुङ र कान्छाले पर्वत राज्य अंश पाए। नेपाली एकीकरणका क्रममा बहादुर शाहले १८४२/४३ तिर गलकोट राज्यलाई नेपालमा मिलाए।

 शाह वंशका राजाले आफूलाई बडामहाराजधिराज भन्न जितेका राज्यहरूमा पनि राजा कायमै राखे। समयक्रममा गलकोटे मल्ल राजाका सन्तानहरूको राणा परिवारसँग हिमचिमसँग बिहेवारी हुन थाल्यो। गलकोटका १५औं राजा थिए– भरत बम मल्ल।

भरतका माहिला सन्तानका रूपमा थिरबम मल्लको १९८१ भदौ ३१ गते जन्म भयो। उनी गलकोटमा जन्मे पनि काठमाडौंमा हुर्किए। भरतले राणाकी छोरीसँग बिहे गरेका थिए। राणाहरूसँग पारिवारिक सम्बन्ध भएका कारण थिरबमले काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गर्ने मौका पाए।

त्रिचन्द्र कलेजबाट आइएस्सीसम्म अध्ययन गरेपछि उच्च शिक्षाका लागि भारतको देहरादुन पुगे। त्यस बेला राणाका छोराहरूसँगै सरकारले रोजेका व्यक्तिलाई सैन्य शिक्षा र तालिमका लागि भारत पठाउने चलन थियो। सानैदेखि निर्भीक उनी आफ्नै खर्चमा सैन्य शिक्षा लिन भारतको सैनिक शिक्षालय देहरादुन गएका थिए।

राणा शासनको अत्याचार चरम सीमामा पुगेको थियो। राणा शासनको विरोध गरेका कारण लखन थापा, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दरशथ चन्द, शुक्रराज शास्त्रीलगायतले ज्यान गुमाएका थिए।

मुलुकमा राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि बिपी कोइराला, सुवर्णशमशेर राणा, मातृका कोइरालालगायतले भारतमा बसेर राजनीतिक मोर्चाबन्दी गर्न थाले। सुवर्णशमशेर थिरबम मल्लका सहोदर मामा थिए। राणा शासनविरुद्ध क्रान्ति सफल पार्न आर्थिक जोहो गर्ने जिम्मा सुवर्णशमशेरले पाएका थिए।

थिरबम भारतमा सैन्य तालिम सकेर नेपाल फर्कने तयारीमा थिए। थिरबमको क्षमता देखेर उनलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले आनो एडिसी राख्न चाहेका थिए। यता नेपालबाट बाबु भरतबमले ‘जे गर्नुछ देशमै बसेर गर्नू’ भनेर पत्र लेखेपछि थिरबम भारतीय सेनामा भर्ती नभई नेपाल फर्कने तयारीमा थिए। त्यही मौकामा नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति घोषणा गर्‍यो। थिरबम मामा सुवर्ण शमशेरको सम्पर्कबाट देहरादुनबाट कोलकाता पुगे।

भारतीय सैनिक शिक्षालयमा रहेर सेकेन्ड लेफ्टिनेन्टको तालिम पूरा गरेका थिरबम नेपाली कांग्रेसको मुक्ति सेनामा सामेल भए। मुक्ति सेनाले २००७ साल कात्तिक २१ गतेबाट सशस्त्र क्रान्ति थाल्यो।

सैन्य अधिकृतको तालिम लिएका थिरबम मुक्ति सेनाको मुख्य कमान्डरमध्ये एक बने। हातहतियारको बन्दोबस्ती र युद्धको तयारीपछि नेपालको तीन ठूला सहरमा मुक्ति सेनाले एकैपटक आक्रमण गर्ने तयारी गर्‍यो। थिरबमले पूर्वी कमाण्ड सम्हाले। उनको कमाण्डको टोली वीरगन्ज कब्जा गर्ने लक्ष्यसहित खटियो। अरू दुई टोली भैरहवा र विराटनगरका लागि खटिए।

मुक्ति सेनाले यी तीनवटै सहरमा रहेका सरकारी अड्डामा २००७ साल कात्तिक २६ गते आक्रमण गर्‍यो। थिरबमको टोलीले वीरगन्ज कब्जा गर्‍यो। विराटनगर र भैरहवा भने मुक्ति सेनाले कब्जा गर्न सकेन।

राणा शासनविरुद्धको नेपाली कांग्रेसको अगुवाइमा सशस्त्र संघर्ष सुरु भएपछि सत्ता पक्षले कांग्रेसले जनता मार्छ भन्ने अफवाह फैलायो। राणाहरूको भ्रम चिर्न र विजयी मोर्चालाई सम्बोधन गर्ने क्रममा राणा शासनका जासुसले गोली हानेर थिरबमको हत्या गरे। उनको छातीमा गोली लाग्यो।

उपचारका लागि भारतको डङ्कन अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै थिरबमको मृत्यु भएको इतिहासका जानकार बताउँछन्। राणा शासनविरुद्ध सशस्त्र क्रान्तिमा युद्ध मोर्चाको नेतृत्व गर्दा वीरगति प्राप्त गर्ने उनी पहिलो व्यक्ति अर्थात् सहिद भएको इतिहासमा उल्लेख छ।

थिरबम बिपीका विश्वासपात्र थिए। आरामपूर्ण जिन्दगी छाडेर थिरबमले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि जीवन बलिदान गरे। बालापनदेखि नै मामा सुवर्णशमसेरको प्रभावका कारण थिरबम राणा शासनविरोधी बनेको उनका नाति मन्जेशबम मल्ल बताउँछन्।

‘राजा नै भए पनि भरत बममा सामन्ती स्वभाव थिएन, मामा सुवर्णशमशेरको प्रभाव पनि उहाँमा पर्‍यो,’ मन्जेशबम भन्छन्, ‘मामामार्फत कांग्रेसका शीर्ष नेताहरूको सम्पर्कमा पुगेपछि उहाँले आफूलाई जनक्रान्तिमा होम्नुभयो।’

मामा सुवर्ण शमसेरको मुख्य प्रभावले नै थिरबमलाई जनक्रान्तिमा होमिन प्रेरित गरेको इतिहासका अध्येता वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ बताउँछन्। ‘थिरबम जनताका छोरा थिएनन्, उनले जनताले पाएको जस्तो दुःख पनि पाएका थिएनन्,’ श्रेष्ठ भन्छन्, ‘मामा सुवर्णशमसेरको राजनीतिक चेतले उनलाई पनि क्रान्तिमा होम्यो।’

मल्ल मेमोरियल फाउन्डेसनका अध्यक्षसमेत रहेका मञ्जेश बम मल्लका अनुसार राजा भरत बमका जेठा छोरा लक्ष्मण बमसमेत केआई सिंहको नेतृत्वमा भैरहवामा भएको युद्धमा सहभागी थिए। राजा भरत बम र उनको परिवारको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान देखिन्छ।

थिरबमका पिता पनि प्रजातन्त्रप्रेमी थिए। राजा भरत बम मल्ल २०१५ सालको आम निर्वाचनमा ८६ नम्बर क्षेत्रबाट पहिलो जननिर्वाचित संसद् भएका थिए। पहिलो जननिर्वाचित सरकारले राजा रजौटा उन्मुलन गर्ने निर्णय गर्दा त्यसको प्रस्ताव राजा भरत बम मल्लले पेस गरेर आफूले खाइपाइ आएको सुविधा त्यागेका थिए।

प्रजातान्त्रिक आन्दोलनका मुख्य चार सहिदसँगै थिरबम मल्ललाई पनि पाँचौं सहिदको रूपमा विगतमा सम्मान गरिँदै आइएको थियो। बहुदलको पुनर्स्थापनापछि सहीदको सम्मान घट्दै गएको छ। पछिल्लो समय राज्यस्तरबाट थिरबमको सम्झनामा कुनै पनि कार्य नभएको फाउन्डेसनका अध्यक्ष मञ्जेशबम मल्ल बताउँछन्।

थिरबम मल्ललाई जीवन्त राख्नको लागि परिवारको तर्फबाट २०५३ सालमा फाउन्डेसन स्थापना गरिएको थियो। फाउन्डेसनले शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए।

‘हामीले फाउन्डेसनमार्फत गलकोट नगरपालिका–५ हरिचौरको थिरबम प्रावि र वडा नम्बर ३ हटियाको गलकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदानका लागि सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘हरेक वर्ष नेपाल ब्याडमिन्टन संघले ‘सहिद थिरबम मल्ल कप’ ब्याडमिन्टन प्रतियोगिता चलाउँदै आएको छ। त्यसका लागि पनि सहयोग गर्ने गरेका छौं।’

राजा भरत बम र रानी चैतन्य राजेश्वरीले आफ्नो छोरा थिरबमको स्मृतिमा २००९ सालमा स्थापना गरेको पुस्तकालय पनि हरिचौरमा छ। द्वन्द्वकालको समयमा पुस्तकालय चल्न सकेन। ‘सहिद थिरबम पुस्तकालयु अहिले जीर्णोद्वार गरेर राखिए पनि सञ्चालनमा नरहेको गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमाल बताउँछन्।

‘पुस्तकालय सञ्चालनमा ल्याउन प्रयासमा छौं, थिरबम प्राविमा विद्यार्थीलाई सहयोग गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘ठ्याक्कै थिरबमकै नाममा अरू काम भएको छैन।’

काठमाडौंमा रहेको फाउन्डेसनले केही गतिविधि गरे पनि प्रजातान्त्रिक योद्धाको उचित सम्मान हुन नसक्ने दुःखद् पक्ष रहेको छ।

सहीदहरूको सपना र बलिदानको उचित मूल्यांकन हुन नसेको नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ बताउँछन्। ‘थिरबम मल्लको बारेमा त बरु केही जानकारीहरू पढ्न पाइन्छ, सामान्य कहिलेकाँही भए पनि केही गतिविधि हुन्छन्,’ श्रेष्ठ भन्छन्, ‘अन्य धेरै सहिदहरूको बारेमा त सुन्न पढ्न पनि पाइँदैन। यो सबैभन्दा दुःखद पक्ष हो।’

राजनीतिक नेतृत्वमा अरू भए पनि जनक्रान्तिको सैन्य नेतृत्व गरेका थिरबमको योगदान उचित मूल्यांकन हुनुपर्ने उनको भनाइ छ। ‘क्रान्ति नरोजी राणाहरूको पक्षमा लागेको भए थिरबमले राम्रै हैसियत पाउँथे, तर प्रजातन्त्रका लागि उनले आफूलाई समर्पित गरे,’ उनले भने।

वीरगञ्जमा राणा शासनको सबै अड्डा नियन्त्रणमा लिइसकेपछि राणाहरूको जासुसले युद्ध अपराध गरेर थिरबमको हत्या गरेको इतिहासका अध्येता तेजेन्द्र थापा बताउँछन्। ‘लडाइँ सबै सकिएको थियो, थिरबमलाई युद्ध अपराध गरेर मारिएको हो,’ उनी भन्छन्।

मुक्ति सेनाले अन्य दुई ठाउँको युद्ध हार्दा पनि वीरगञ्जको जीतले २००७ साल फागुन ७ गने नेपालमा प्रजातन्त्र स्थापना गर्नमा ठूलो भूमिका खेलेको उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले सहिदको कुनै मूल्य नै छैन, इतिहास प्रजातन्त्रप्रेमीले भने उनलाई प्रेरणाको रूपमा लिइरहनेछन्।’

बागलुङ नगरपालिका–१ को सहिद पार्कमा थिरबम मल्लको पनि शालिक अन्य चार सहिदसँगै राखिएको छ। गलकोट नगरपालिकाले पनि सहिद थिरबमको अर्धकदको शालिक निर्माण गर्न बजेट बिनियोजन गरे पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिका प्रमुख भरत शर्मा गैरे बताउँछन्।

‘थिरबमको अर्थकदको शालिक बनाउन ६ लाख रूपैयाँ बजेट नगरसभाबाट बिनियोजन गरेका थियौं तर मूर्तिकारसंग समयमा काम लिन नसकिएका कारण त्यो बजेट फ्रिज भयो,’ उनले भने, ‘आगामी कार्यक्रममा समेट्नेछौं। हटिया हरिचौरको नाम सहीद थिरबमको नाममा राख्ने भन्ने विषयमा चर्चा भएको छ। त्यसलाई कार्यान्वयन गर्छौं।’

प्रकाशित: ७ फाल्गुन २०८० ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App