२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज प्रजातन्त्र दिवस: प्रजातन्त्रको प्रतीक्षामा जुम्ली!

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्च सम्मेलनमा सहभागी हुन आएका जुम्ली महिला। तस्बिर : उपेन्द्र/ नागरिक

एउटा भनाइ छ–२००७ सालमा प्रजातन्त्र आएको कुरा जुम्लीहरूले ०८ सालमा मात्र थाहा पाए रे! यातायात र सञ्चारको अभावमा राजधानीभन्दा निकै टाढा रहेका जुम्लीले प्रजातन्त्र आएको खबर पनि ढिलो सुनेको यो भनाइको सार हो।

प्रजातन्त्र दिवसको अघिल्लो दिन आइतबार काठमाडौंमा भेटिएका जुम्लीले २००७ सालमा आएको प्रजातन्त्रको अनुभूति ८० सालमा पनि नभएको सुनाए। ‘प्रजातन्त्र कहाँ र कहिले आयो थाहा छैन, हाम्रो दुःख उस्तै छ,’ जुम्लाकी ५९ वर्षीया चुक्की महताराले भनिन्, ‘१२ महिना काम गरेर ६ महिना पनि खान पुग्दैन।’

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले विश्व सामाजिक मञ्चको सम्मेलनमा सहभागी हुन राजधानी आएका जुम्लीले कर्णालीमा दुःखको भिन्नै संसार भएको बताए।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा सहभागी उनीहरूले विकासको अभावमा जुम्लीले दुःखको संसार भोग्नुपरेको सुनाए।

‘हामीलाई त अहिले चिसोमा बाल्ने दाउरासमेत छैन,’ ५० वर्षीया सुनिता महताराले भनिन्, ‘प्रजातन्त्र त कुन चरीको नाम हो अझै थाहा छैन।’ गाउँमा उत्पादन राम्रो नभए पनि काम सबै महिलाले गर्नुपरेको सुनाइन्।

‘घाँस, दाउरा, खनजोत गरेर जीवन चलिरहेको छ,’ उनले भनिन्, ‘केही हुन्छ भन्ने आशामा बस्दाबस्दै जिन्दगी सकिन लागेको छ।’ उनले काम गर्न सक्ने उमेर पुरुष सबै बिदेसिएको बताइन्।

जुम्लाका अर्गानिक खान्की चिनो, कागुनु, मार्सी, सिलाम, फापर, भागो, सिमीलगायत बोकेर काठमाडौं आएकी उनले जति मेहनत गरे पनि जुम्लीको प्रगति नभएको गुनासो गरिन्। ‘प्रजातन्त्र कहिले आयो थाहा भएन,’ उनले भनिन्, ‘तर केन्द्रदेखि वडासम्म भ्रष्टाचार भएको चाहिँ थाहा हुँदैछ।’ किसानले पाउने अनुदानसमेत बिचौलियाले लगेका कारण दुर्गमका बासिन्दा समस्यामा परेको उनले बताइन।

जुम्लाको परम्परागत कपडासँगै मोहर मालामा सजिएकी पूर्णकली रोकायाले पनि जति मेहनत गरे पनि साथमा पैसा नहुने सुनाइन्। ‘उता भएको उत्पादनले मूल्य पाउँदैन,’ उनले भनिन्, ‘राजधानी टाढा छ, सरकार भेटिन्न।’

जुम्ला चन्दननाथकी पूर्णिमा विकको बुझाइ पनि उस्तै छ। उनी जुम्लीले काठमाडौं धाउनेभन्दा पनि विकास जुम्ला पुग्नुपर्ने बताउँछिन्।

‘अधिकारका लागि राजधानी जति आए पनि जुम्लामा विकास पुगेन,’ उनले भनिन्, ‘विकास जुम्लामा पुगे राजधानी धाउने दिनको अन्त्य हुने थियो।’  

राजधानीमा घोडा दौडाएर प्रजातन्त्र दिवस मनाउँदै गर्दा जुम्ली भने हलो जोत्दै गरेको अवस्थामा पाइने उनले बताइन्। ‘साँच्चै प्रजातन्त्र आएको भए मान्छे मान्छेमा भेद हुँदैनथ्यो,’ उनले भनिन्, ‘राजधानीका मान्छे र जुम्लाका मान्छे दुवैलाई समान दृष्टिले हेरिन्थ्यो।’

राजधानीमा सडक टाल्न अर्बांै रूपैयाँ खर्चिने सरकारले कर्णालीका राजमार्गको जोखिम हटाउन भने कन्जुस्याइँ गरेको उनको गुनासो छ।

विश्वका धेरै मुलुकले विकासमा फड्को मारिसक्दा पनि नेपाली समाज अझै पनि विभेद, अन्याय र अभावमा अल्झिरहेको छ। काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्च सम्मेलनमा जुम्लीको पनि सहभागिता छ।

सम्मेलनका क्रममा विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति र समानता प्राप्ति तथा विभेद अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्।

‘यो कार्यक्रमजस्तै सरकारले अब अर्को नेपाल पनि सम्भव छ भन्ने नारा ल्याउनुपर्‍यो,’ जुम्लाकी गीता महताराले भनिन्, ‘न्याय र समानताको अनुभूति भए मात्र जुम्लाले प्रजातन्त्र आएको महसुस गर्नेछ।’

प्रकाशित: ७ फाल्गुन २०८० ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App