१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल र खनाल एकै गोलार्द्धका दुई ध्रुव

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को जेठका लागि तोकिएको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीका नीति, सिद्धान्त र विचारमा बहस हुन थालेको छ। उनीहरूबीचको वैचारिक संघर्ष पार्टी बैठकमा मात्र सीमित नभएर सार्वजनिक मञ्चमा कार्यकर्ताले नै महसुस गर्न सक्ने गरी देखिन थालेको छ।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसकिने प्रस्ट धारणा राख्दै नेता खनाललाई दबाबमा राखिरहेका छन्। तर खनाल पनि कमजोर देखिएका छैनन्। उनले सार्वजनिक रूपमै जबज नै मान्ने हो भने त्यसका लागि एमाले रहेको बताउने गरेका छन्। नेपाल जबजको राम्रो पक्षलाई अँगाल्दै समाजवादी यात्रामा अगाडि बढ्ने पक्षमा छन्।

खनाल जबज कालातीत भइसकेकाले समाजवादी कार्यक्रम र लक्ष्य लिएर अगाडि बढ्नुपर्नेमा दृढ छन् । नेपाल र खनालबीच जबज र समाजवादी कार्यक्रमबारेको मतभेद पार्टीको राष्ट्रिय परिषद् बैठकमा पनि देखिएको थियो।

वरिष्ठ नेता खनालले नेकपा एसमा भन्दा ठुलो स्वर एमालेमा सुनिने भएकाले त्यतितिर किन जाने भनी प्रश्न उठाएपछि अध्यक्ष नेपालले जबजको आधिकारिक हिस्सेदार आफूहरू भएको जिकिर गर्दै आएका छन्। नेकपा एसको माघ १३–१४ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकमा जबजबारे ठुलै छलफल भयो।

बैठकमा नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेका थिए। जबज छाडे पार्टीको इतिहास नै समाप्त हुने उनको भनाइ थियो। ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन। त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो। हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं। कम्युनिस्टविरोधी अभियान चलिरहेको छ। त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन,’ अध्यक्ष नेपालले भनेका थिए, ‘बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गरौं। त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो। जबजको कुनै काम छैन, त्यो मिल्काइदिऔं भन्नु आत्मघाती विचार हो।’

सोही बैठकमा खनालले जबज पुरानो नीति र सिद्धान्त भएको बताउँदै त्यसलाई महाधिवेशनबाट छिनोफानो गर्नुपर्नेमा जोड दिएका थिए। पार्टीको महाधिवेशनले नीतिमा प्रस्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने उनको दाबी थियो।

‘क्रान्तिको बाटोमा छ्याङ्ङ हुने गरी नीति तय गर्नुपर्छ। अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा भन्ने अनि हो भने हामी कतातिर जाने ? जबज भन्ने हो भने ठुलो जबजमा नै किन नजाने ? ठुलो जबजवाला भनेको त एमाले हो। हामीले भन्दा केपीले भनेको सुन्छन्। यसमा हामी प्रस्ट हुनुपर्छ,’ वरिष्ठ नेता खनालले भनेका थिए।

माघ २१ गते उपाध्यक्ष बेदुराम भुसालको पुस्तक विमोचनमा पनि अध्यक्ष नेपालले जबजबारे वकालत गरे। ‘सबै परिवेशमा कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउनुपर्छ। त्यसकारण बहुदलीय नीति लिएर हामी बढ्न खोजेका हौं। त्यसलाई नयाँ परिवेशमा लानुपर्छ। समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय राजनीतिको त्यति नै आवश्यकता छ। हाम्रो समाजवादी चीन, भियतनाम, क्युबाको जस्तो हुँदैन।

समाजवादको सिंगो चरणमा वर्गहरूको अस्तित्व रहन्छ,’ नेपालले भनेका थिए। तर खनाल भने नेपालको विचारको पुरै विपक्षमा उभिएका छन्। उनले वर्गको अस्तित्वसँगै विचार हुने उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी लाग्नुपर्ने बताए। उनले पहिलेदेखि नै जबजलाई छाडेर पार्टी अघि बढ्नुपर्ने बताउँदै आइरहेका छन्। उनले खनालले जबजको बाटोबाट नेकपा एस कतै पनि नजाने बताउँदै उनले त्यसलाई मान्ने भए लेनिनले किन मानेनन् भन्ने प्रश्नसमेत उठाए।

एमालेमै रहँदा पनि खनाल जबजका विरोधी थिए। खनालको नेतृत्वमा आठौं महाधिवेशन भए पनि उनले जबज स्वीकार गरेको घोषणा गरेका थिएनन्। अध्यक्ष जितेपछि त्यसबारे चार वर्ष मौन नै बसे। त्यही बेलाबाट एमाले बहुपदीय प्रणालीमा गएको थियो। एमालेको बुटवल महाधिवेशनबाट केपी ओलीलाई हराउँदै खनाल कार्यकारी अध्यक्ष निर्वाचित भएपछि जबजबारे उनले मौनता साँधेका थिए।

पुस ११–१३ मा ललितपुरमा बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकको एक सूत्रीय एजेन्डा विधान मस्यौदाको छलफलमा पनि जबजबारे विवाद सिर्जना भएको थियो। बैठकमा खनालले केही राजनीतिक विषय उजागर गरेका थिए। उनले राष्ट्रिय महाधिवेशनले पार्टीका कार्यदिशा, नीति, सिद्धान्तका साथसाथै कार्यक्रम, रणनीति, कार्यनीति, मित्र र विरोधी शक्ति, समाजका प्रमुख राजनीतिक अन्तरविरोध, प्रमुख प्रतिद्वन्द्वी शक्ति आदि सबै कुराको निक्र्याेल गरेर जानुपर्ने औंल्याएका थिए।

‘बहुदलीय जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद जे भने पनि ती हिजोका जनवादी क्रान्तिका कार्यक्रम हुन्। जनवादी क्रान्ति नै सिद्धिसकेपछि ती सबै कार्यक्रम कालातीत भइसके। यसकारण अब ती कुराको पृष्ठभूमिमा उभिएर हामीले समाजवादी कार्यक्रम र लक्ष्यलाई लिएर अगाडि बढ्नुको कुनै विकल्प छैन,’ उनले भनेका थिए।

नेता खनालले विषय प्रवेश गराएपछि अध्यक्ष नेपालले पनि सविस्तार व्याख्या गरेर जबज छोड्न नसकिने भन्दै खनाललाई सम्झाउने कोसिस गरेका थिए। ‘जबजबाट टाढियौं भने जनताले अस्वीकार गर्छन् । यो विचार विश्व कम्युनिस्ट आन्दोलनमा कुन पार्टीले अगाडि सारेको थियो ? हामीले नै सारेका थियौं। कमरेड मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले अगाडि सारेको थियो– जबज। यो हाम्रो पेटेन्ट राइट भएको चिज हो। यसलाई छोड्न, त्याग्न हामी सक्दैनौं,’ नेपालले भनेका थिए।

राजनीतिक रूपमा वर्गशत्रु र मित्रशक्ति किटानबारे पनि नेपाल र खनालको फरक धारणा छ। अध्यक्ष नेपाल नेपाली कांग्रेससितको वर्तमान गठबन्धनलाई तत्काल बलियो बनाएर जानुपर्ने बताउँछन् भने खनाल तत्काल वामपन्थी सहकार्य हुनुपर्ने पक्षमा छन् । नेपालमा रहेका सबै राजनीतिक शक्तिको वर्ग विश्लेषण गर्नुपर्नेमा खनालको जोड छ।

‘प्रत्येक राजनीतिक पार्टीले कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेकै हुन्छ। यो एउटा सामान्य र अकाट्य विश्वव्यापी नियम हो। तर त्यो नियमविपरीत कुनै पार्टी विशेषको वर्ग चरित्र छुट्याउन सकिँदैन भन्ने खालको कुरा द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ खनालले भनेका छन्।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने दुई नेताहरूबीच लामो सम्बन्ध भएकाले विचारमा कहिलेकाहीँ फरक सुनिएको तर पार्टी बनाउने बेलामा दुवैजना बलियो रूपमा उभिने भएकाले अहिलेको बहसले पार्टीलाई नै मजबुत बनाउने बताए। ‘उहाँहरूबीच बहस छलफल हुनु स्वाभाविक हो। यसले पार्टीलाई एकताबद्ध बनाउन मद्दत गराउँछ,’ उनले भने।

प्रकाशित: २७ माघ २०८० ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App