४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रक्षामन्त्री–बेलायती सेना प्रमुख भेटवार्ताः ब्रिटिस गोर्खाका समस्याबारे छलफल

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालय पुगेर सन्डर्सले रक्षामन्त्री खड्कासँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा रक्षामन्त्री खड्काले ब्रिटिस सेनामा सेवारत ब्रिटिस गोर्खाहरूको योगदानबारे बेलायती सेना प्रमुख सन्डर्सलाई स्मरण गराएका थिए। सो प्रशंगमा मन्त्री खड्काले सन् १९९७ अघि सेवा निवृत्त भएका ब्रिटिस गोर्खालीहरूलाई बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन सकारात्मक पहल गर्न आग्रह गरे।

‘उपप्रधानमन्त्रीज्युले आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेको स्मरण गराउँदै यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारता राख्न अनुरोध गर्नुभएको छ,’ सचिवालय स्रोतले भन्यो।

यस्तै रक्षामन्त्री खड्काले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे। नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध जनस्तरसम्म फैलिएको खड्काले बताए । ‘उपप्रधानमन्त्रीज्युले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको स्मरण गराउनुभयो,’ रक्षामन्त्री खड्काको सचिवालयका एक सदस्यले भने,‘गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एकसय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको पनि स्मरण गराउनुभयो।’

सेना प्रमुख सन्डर्सको यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्नेमा पनि रक्षामन्त्री खड्काले विश्वास व्यक्त गरेको सचिवालयले जनाएको छ।

भेटमा बेलायती सेना प्रमुख सन्डर्सले बेलायत गोर्खा सैनिकबारे रक्षामन्त्री खड्काले उठाएको विषय आफूले गम्भीरतापूर्वक लिएको बताए। यस्तै अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने बेलायती सेना प्रमुख सन्डर्सले औँल्याए।

‘उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो,’ रक्षामन्त्रीको सचिवालय स्रोतले भन्यो। यस्तै बेलायत सरकार आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको आफूले थाहा पाएको पनि बेलायती सेना प्रमुख सन्डर्सले बताएका थिए। 

उक्त भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवं अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: १६ माघ २०८० ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App