१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सामाजिक एकता बिथोल्ने काम भएको छ: गृहमन्त्री श्रेष्ठ

नेपालको बहुजातीय तथा बहुभाषिक र बहुधार्मिक एकतायुक्त मौलिक विशेषतामाथि प्रहार गर्ने काम भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।

सर्लाही सदरमुकाम मलङवामा नवनिर्मित कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कतै कतैबाट सामाजिक एकता र धार्मिक सहिष्णुतामाथि प्रहार भइरहेको त्यो गर्नेमाथि कतैबाट छुट दिन नहुने बताएका हुन्। गृहमन्त्री श्रेष्ठले सबै मिलेर देशको विशेष मौलिकतालाई जोगाउनुपर्ने पनि बताए।

मलङवामा कारागार उद्घाटन हुनुलाई गृहमन्त्री श्रेष्ठले खुसीको कुरा बताउँदै जेललाई सुधार गृहको रूपमा विकास गर्न सरकार लागेको बताए। जेलको उद्देश्य सजाय पाएकालाई पश्चात्ताप गर्न र भविष्यको जीवन राम्रो होस् भन्ने उद्देश्यले सुधार होओस् भन्ने रहेको बताए।

गृहमन्त्री श्रेष्ठले कारागारभित्र कम्तीमा मानवीय सेवा र सुविधा पुगोस् र जेलमा बसेकाहरूले न्यूनतम सुविधा पाउन् भन्ने चाहना सरकारको रहेको बताए। सरकारले खुल्ला कारागारको अवधारणालाई व्यवहारमा लागू गर्दै लगेको र कैदी बन्दीहरूलाई सामाजिक एकीकरण गर्न केही हदसम्म सीमित छुट दिएर घरपरिवार तथा समाजसित समायोजन गर्न दिइएको बताए। सरकारले जेलभित्र ध्यान शिविर गर्न थालेको र केन्द्रीय कारागारमा एउटा ध्यान केन्द्र भवन नै निर्माण गर्न थालेको पनि स्पष्ट पारेका छन्।

तराई मधेसका साथै देशमा नै विकराल रूपमा रहेको मिटर ब्याजको समस्या अब समाधानतर्फ गइरहेको बताउँदै देशभर १७ हजारभन्दा बढी उजुरी आएको ५ हजारको स्थायी समाधान गरिएको गृहमन्त्री श्रेष्ठले जानकारी गराए। हजारौँ बिगाहा जमिन किसानलाई नै फिर्ता गराइएको र अदालतमा पनि पीडितको पक्षमा फैसला भइसकेको मुद्दामा विचार गरिएको बताए।

पहिले जिल्ला प्रशासन कार्यालयमा रहेको उजुरीलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको र अब प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै गृहमन्त्री श्रेष्ठले मिटर ब्याज पीडितलाई न्याय दिलाउन पछाडि नपर्ने दृढता व्यक्त गरे। गृहमन्त्री श्रेष्ठले पीडितमाथि अन्याय हुने गरी कुनै पनि जनप्रतिनिधि तथा नेताहरूलाई प्रहरीमाथि दबाब नदिन आग्रह पनि गरेका छन्।

गृहमन्त्री श्रेष्ठले उद्घाटन गरेसँगै सर्लाहीमा कारागार सञ्चालनमा आएको छ। सर्लाही सदरमुकाम मलङवामा ११ वर्षपछि कारागार सञ्चालनमा आएको हो।

सर्लाहीमा कारागार नहुँदा सर्लाही जिल्ला अदालतबाट कारागार सजाय पाएकाहरूलाई अन्यत्र स्थानान्तरण गरिँदै आएको थियो। पहिले रहेको कारागार भवन जीर्ण बनेपछि कारागार भित्रका कैदी बन्दीलाई २०६९ मा सर्लाही प्रशासनले सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरेको थियो।

कारागार भवनको निर्माण र उद्घाटन भएसँगै जिल्ला कारागार सर्लाहीमा रौतहटबाट ३० कैदीबन्दी ल्याएको कारागारका महानिर्देशक काशीराज दाहालले जानकारी गराएका छन्। 

प्रकाशित: ७ माघ २०८० ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App