१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यसरी मनाइँदै छ आज 'मधेस बलिदानी दिवस'

मधेस प्रदेश सरकारले आज आठौं बलिदानी दिवस मनाउँदै छ। मधेसमा भएको अधिकार प्राप्ति आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरणमा प्रदेश सरकार गठन भएदेखि औपचारिक रुपमा माघ ५ गतेका दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।

मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जको टाउन हलमा विशेष समारोहको आयोजना गरेर मनाउन लागेको प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले जानकारी दिए। उनका अनुसार दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ।

बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिद परिवारलाई ३/३ लाख र घाइते परिवारलाई १ देखि २ लाखसम्म आर्थिक सहयोग गर्ने तयारी रहेको अर्थमन्त्री यादवले बताए।

समारोहमा प्रमुख अतिथि (जसपा) अध्यक्ष उपेन्द्र यादव प्रदेश सरकारका मन्त्री, सांसद तथा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

बलिदानी दिवस दिन माघ ५ गते मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिदै आएको छ।

मधेसी जनताको माग सम्बोधन नगरी अन्तरिम संविधान २०६३ जारी गरेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँको माइती मण्डलामा संविधान जलाएपछि यादवसहित दर्जनौं फोरमको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौमा फोरमका नेता कार्यकर्तालाई पक्राउ गरेपछि मधेसमा फोरमका कार्याकर्ताले माघ ३ गतेदेखि मधेसका बजार बन्द गराएर आन्दोलनमा उत्रेका थिए।

आन्दोलनकै क्रममा २०६३ माघ ५ गते सिराहाको लहानमा राजमार्ग ठप्प परेर बिरोध प्रदर्शन गरिरहेका थिए। त्यहीँ क्रममा पुर्वबाट माओवादीका नेताहरू आउँदै गरेको गाडी रोक्दा माओवादीले चलाएको गोलि लागेर रमेश महतोको ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो।  

यो दिनलाई स्मरण गर्दै मधेस केन्द्रित दलले कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने गरेको छ। मधेस आन्दोलनको हिसाबले १७ औं बलिदानी दिवस भएपनि प्रदेश सरकारले औपचारिक रुपमा मनाउन लागेको आठौं बलिदानी दिवस हो।  

प्रकाशित: ५ माघ २०८० ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App