२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान गरेका छन्। असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

भोलि र पर्सि गरी २ दिनसम्म हुने सम्मेलन गणतन्त्र युगान्डाको राजधानी कम्पालामा आयोजना हुँदैछ। सम्मेलनमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं फर्कनेछन्।

प्रकाशित: ४ माघ २०८० ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App