१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एनसिसी तालिम

विद्यार्थीको लक्ष्य सेना, प्रहरी

छात्रातर्फ सर्वोत्कृष्ट क्याडेट अपेक्षा गुरुङलाई दज्र्यानी चिह्न प्रदान गरिँदै। तस्बिर: नगेन्द्र/नागरिक

कालिकोटको खाडाचक्र नगरपालिका–१ का जीवन शाही जनजीवन माविमा कक्षा १० मा पढ्छन्। नेपाल प्रहरी बन्ने सपना देखेका उनले भर्खरै नेपाली सेनाले सञ्चालन गरेको राष्ट्रिय सेवा दल (एनसिसी) को १०० दिने तालिम पूरा गरे। कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १५ विद्यालयका ५२६ विद्यार्थी सहभागी तालिममा उनी छात्रतर्फ ‘बेस्ट क्याडेट’ पनि बने ।

‘मेरो लक्ष्य प्रहरी बनेर देशको सेवा गर्ने हो,’ राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयबाट पास आउट भएपछि उनले भने, ‘तालिमले लक्ष्य पूरा गर्न सघाउने विश्वास छ।’ उनले व्यक्तित्व विकास, अनुशासन, शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

एनसिसी तालिममा सहभागी सुर्खेतकी अपेक्षा गुरुङको लक्ष्य पनि नेपाली सेना बनेर देशको सेवा गर्ने छ। एसओएस हर्मन माइनर स्कुलमा १० कक्षामा पढ्दै गरेकी उनी पनि छात्रातर्फ ‘वेस्ट क्याडेट’ बनिन्।

‘सेनामा जाने भएर होला गुरुहरूले सिकाएका सबै कुरा व्यवहारमा कार्यान्वयन गर्न सकें,’ उनले भनिन्, ‘त्यसैको फलस्वरूप छात्रातर्फ बेस्ट क्याडेट बन्न सफल भएँ।’

अपेक्षाले नजिकै आउन लागेको एसइई र एनसिसी तालिमलाई एकसाथ अगाडि बढाइन्। ‘स्कुलमा सरहरूले एसइई तयारी गर्नुपर्ने भएकाले १० कक्षाका विद्यार्थीलाई एनसिसीमा सहभागी नगराउने भन्नुभएको थियो,’ उनले भनिन्, ‘मेरो लक्ष्य नेपाली सेना भएर देशको सेवा गर्ने हो। त्यसैले जसरी पनि तालिममा सहभागी हुने अड्डी लिएँ।’

पछिल्ला १०० दिन उनका लागि ज्याँदै चुनौतीपूर्ण रहे। तालिमसँगै पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता उनलाई थियो। ‘आफूले रोजेको काम गर्न पाउँदा गाह्रो नहुँदो रहेछ,’ उनले भनिन्, ‘तालिमसँगै पढाइलाई पनि अगाडि बढाएँ, कुनै समस्या भएन्।’

विभु उपाध्याय पनि सुर्खेतस्थित एसओएस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। एनसिसीमा सहभागी भएपछि उनको लक्ष्य फेरिएको छ।

उनले उमेर पुगेपछि सेनामा भर्ना हुने लक्ष्य राखेकी छिन्। ‘पहिले सेना–प्रहरी मेरो रुचिको विषय थिएन्,’ उनले भनिन्, ‘१०० दिन राष्ट्रिय सेवा दलको तालिम लिएपछि सेना–प्रहरीको महत्त्व बुझ्न पाएँ। अब उमेर पुगेपछि नेपाली सेनामा भर्ना हुन्छु।’

उनका अनुसार एनसिसी तालिम प्राप्तलाई सेना–प्रहरीमा भर्ना हुन अरूलाई भन्दा केही सहज हुन्छ। नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम ७९ दिन सम्बन्धित विद्यालयमै दिन्छ। बाँकी २१ दिन सेनाकै तालिम शिक्षालयमा पुगेर तालिम लिनुपर्छ।

‘यो अवधिमा हामीले खुकुरी ड्रिलसम्म सिकेका हुन्छौं, आधारभूत कुरा सिकेकाले पछि सेना–प्रहरीमा भर्ना हुँदा निकै सहज पनि हुन्छ,’ उनले भनिन्।

तालिमले स्वःअनुशासन, राष्ट्र र राष्ट्रियताप्रति बफादार हुन, व्यक्तित्व र नेतृत्व क्षमता विकासमा तालिम महत्वपूर्ण भएको उनले बताइन्।

राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेका मेजर निराजन खड्काले तालिममा सहभागी धेरैको लक्ष्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा भर्ना हुने रहेको आफूले पाएको बताए। ‘एनसिसीमा सहभागी हुने अधिकांशको लक्ष्य नै यही हुन्छ,’ उनले भने, ‘केहीले तालिममा सहभागी भइसकेपछि लक्ष्य निर्धारण गरेको पाइयो।’

उनले युवालाई अनुशासित बनाउन, नेतृत्व क्षमता विकास गर्न, जवाफदेही र इमानदार बन्न सिकाउन, राष्ट्रिय एकताको भावना विकास गर्न तालिम आयोजना गरिएको बताए ।

जुनियर डिभिजनका ५२६ दीक्षित

राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेबाट ५२६ क्याडेट दीक्षित भएका छन्। कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १४ जिल्लाका १५ विद्यालयका ५२६ विद्यार्थी दीक्षित भएका हुन्।

जुनियर डिभिजन एनसिसी तालिमको वार्षिक सामूहिक क्याम्प (दोस्रो चरण) को समापन गर्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेशकुमार श्रेष्ठले युवालाई अनुशासित बन्न, नेतृत्व क्षमता विकास गर्न, इमानदार बन्न, राष्ट्रिय एकताको भावना विकास गर्न, विपद् उद्धारमा दक्ष स्वयंसेवक बन्न सिकाउन तालिमले ऊर्जा दिने बताए। उनले अनुशासन राष्ट्रिय एकताको बलियो आधार भएको बताए।

‘अनुशासनले नै राष्ट्रिय एकता कायम हुन्छ, हामी अनुशासित हुन सक्यौं भने यसले देशमा राष्ट्रिय एकता कायम गर्न मद्दत गर्छ,’ दीक्षान्त तथा कवाज समारोहमा दीक्षित क्याडेटलाई सम्बोधन गर्दै उपरथी श्रेष्ठले भने, ‘तालिम अवधिभर सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक छ।’

उपरथी श्रेष्ठले युवा आदानप्रदान कार्यक्रमको दायरा फराकिलो बनाउन सार्कसँगै नयाँ मित्र राष्ट्रहरूसँग पनि पहल गरिने बताए।

 ‘एनसिसीमा सहभागी छात्रछात्रालाई विभिन्न देशमा आयोजना हुने यस्तैखालका तालिममा सहभागी गराउँदै नेपालभित्रै पनि एनसिसी तालिम विस्तार गर्ने छौं,’ उनले भने, ‘तपाईहरूमा भर्खर पलाउँदै आएको राष्ट्रभाव दीगो बनाउन हरप्रकारका कोसिस गरिनेछ।’

उपरथी श्रेष्ठले दीक्षान्त समारोहमा तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ जनजीवन मावि कालिकोटका जीवन शाही र छात्रातर्फ एसओएस हर्मन माइनर स्कुल सुर्खेतकी अपेक्षा गुरुङलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। तालिममा सहभागी १५ विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने एसओएस हर्मन माइनर स्कुल सुर्खेत उत्कृष्ट वेस्ट प्लाटुनबाट सम्मानित भयो।

प्रकाशित: १ माघ २०८० ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App