२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सबै गम्भीर हुनुपर्छः रक्षामन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीतिमा परेका क्रियाकलाप कार्यान्वयन गर्न अपरिहार्य रहेको बताएका छन्।आज बुधबार रक्षा मन्त्रालयमा भएको राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयन गर्न बनेको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री खड्काले सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायले गम्भीर भएर यसको कार्यान्वयनमा जुट्नुपर्ने बताए।

‘सुरक्षा नीतिमा नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय छन्,’ मन्त्री खड्काले भने,‘यसले सबैले यसमा पूर्ण स्वामित्व र अपनत्व लिँदै गम्भीरतासाथ जिम्मेवारीमा पूरा गर्न आवश्यक छ।’

मन्त्री खड्काले उपस्थित सबै मन्त्रालय तथा निकायका प्रतिनिधिलाई सुरक्षा नीति र एकीकृत कार्ययोजनामा आफ्नो मन्त्रालय÷निकायलाई तोकिएको जिम्मेवारीबारे हालसम्म प्रगतिबारे एकहप्ताभित्र लिखित जानकारी दिन पनि आग्रह गरे। उनले भने,‘प्रगति मात्र होइन। यसको कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयको विवरण पनि लिखित रूपमा रक्षा मन्त्रालयमा उपलब्ध गराइदिनुहोला।’

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले सरकारका अन्य नीतिसँग पनि सामञ्जस्य हुनेगरी कार्यान्वयन हुनुपर्ने बताए।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय र सेनाको मात्र विषय नभइ। सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएको बताए। उनले भने, ‘राष्ट्रको सुरक्षासँग सम्बन्धित विषयमा सबै मन्त्रालय, निकायको सहयोग र समन्वयमा मात्र यो नीति प्रभावकारी हुनसक्छ।’

समीक्षा कार्यक्रममा उपस्थिती अन्य सरोकारवालाले पनि सुरक्षा नीति र एकीकृत कार्ययोजनामा उल्लेख भएका विषयमा भएको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीका विषयमा आआफ्नो धारणा राखेका थिए।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत अन्य मन्त्रालयका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध फोकल पर्सनहरू उपस्थित थिए।

प्रकाशित: २५ पुस २०८० १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App