२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

बाजुरा – नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

यता प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित प्रदेश सांसद एवं नेकपा एमाले बैकल्पिक सदस्य प्रकाश शाह संसदीय दलको नेतामा चयन भएपछि गृह जिल्ला बाजुरामा खुसीयाली छाएको छ । सामाजिक सञ्जालमा बधाई दिनेको लर्को लागेको छ भने चिया पसल होटल चौतारामा पनि शाहकै प्रशसामा गाफिनेक्रम बढेको छ।

कैलालीका सांसद दीर्घ सोडारी र कञ्चनपुरका सांसद तारा लामा तामाङले संसदीय दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन्।

७ नम्बर प्रदेश सभाको प्रदेश कमिटीले दलको नेता छान्ने जिम्मा पार्टी उपाध्यक्ष भीम रावललाई दिएको थियो । दलको नेताका लागि शाह सहीत एमाले कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारी, कञ्चनपुरका अध्यक्ष तारा लामा र डडेल्धुराका सांसद पठानसिंह बोहराको नाम चर्चामा थियो।

शाह अरु आकाक्षी मध्ये पार्टी वरियतामा पहिलो स्थानमा छन् । आकाक्षी चारै जना सांसद एमाले उपाध्यक्ष भीमबहादुर रावल निकट मानिन्छन् । शाह १ वर्षको हुँदा बाबुले छोडेपछि आमा र दाईको साहरामा हुर्केका हुन्।

२०४६ सालदेखि राजनीतिमा सक्रिय छन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाह २०५० सालमा अनेरास्ववियु बाजुराको संस्थापक अध्यक्ष हुन् । २०५६ सालमा पार्टी विभाजित हुँदा मालेको पार्टी सचिव बनेका थिए।

उनी २०६६ सालमा एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएका थिएभने २०७१ सालमा नेकपा एमालेको नवौ महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् । हाल शाह अछाम जिल्ला इन्चार्ज समेत छन्।

यसै गरी प्रदेस ७ को उपसभामुखका लागि माओवादी केन्द्रले दार्चुलाकी प्रदेश सभा सदस्य निर्मला बडाल जोशीको नाम टुंगो लगाएको छ । बैठकले उनलाई उपसभामुखको उम्मेदबार बनाउने निर्णय गरेको माओवादी केन्द्र प्रदेश नं. ७ प्रदेश कार्यालयका प्रचार बिभाग प्रमुख सरल भाटले बताए।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App