१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

व्यवस्था परिवर्तनका लागि बृहत् मोर्चा बनाउन कमल थापाको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बिचार मिल्नेसँग बृहत् मोर्चा बनाउन आह्वान गरेका छन्। 

राप्रपा नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको व्यवस्था बदल्न बृहत् मोर्चा बनाउनका लागि आह्वान गरेका हुन्। व्यवस्थाकै कारण राजनीति अस्थिर भएको तथा विकास र समृद्धि हासिल हुन नसकेको उनको दाबी थियो। ‘अहिलेको व्यवस्था नै खराब हो,’ उनले भने ‘यो व्यवस्थामा जो सरकारमा गएपनि केही गर्न सक्दैन।’ नेपाल अहिले अभिभावकविहीन भएको र यसका कारण शक्ति राष्ट्रसामु नेपाल निरीह हुने गरेको उल्लेख गरे।

अध्यक्ष थापाले व्यवस्था नै खराब भएकाले यो नबदलिएसम्म देशमा शान्ति, स्थिरता, विकास र समृद्धि नहुने दाबी गरे। उनले भने, ‘यसका लागि एक्ला एक्लै लडेर जनआन्दोलन हुँदैन। अनि त्यसरी भएको आन्दोलनले व्यवस्था पनि बदलिँदैन।’ उनले त्यसरी बनाइने बृहत् मोर्चाको नेतृत्व पनि सामूहिक बनाउनुपर्ने बताए। उनले बिचार मिल्नेहरुको मोर्चा बनाउन सकिने पनि बताए। अनि नेतृत्व पनि सामूहिक बनाउनुपर्ने उनले बताए। यदि त्यस्तो मोर्चा बनेको खण्डमा त्यसको नेतृत्व राप्रपा नेपालले दाबी नगर्ने उनले प्रष्ट्याए।

अध्यक्ष थापाले अबको व्यवस्था राजतन्त्र सहितको हुनुपर्ने बताए। ‘त्यसमा दलदेखि राजासम्म अटाउनुपर्छ,’ उनले भने। संवैधानिक राजा भएको तर कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था उपयुक्त हुने उनको भनाई छ। ‘त्यसमा दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाइने, सांसद नभएको पनि मन्त्री हुन पाउने व्यवस्था राम्रो हुन्छ,’ उनले भने।

अध्यक्ष थापाले अहिलेको निर्वाचन प्रणालीका कारण देशभक्त, सोझा र ईमान्दारले जित्ने अवस्था नरहेको दाबी गरे। ‘देशभक्तहरु उम्मेदवार भए भने हराउन सबै लाग्छन्,’ उनले भने, ‘त्यसमा पनि केही त संस्थागत रूपमै लाग्छन्। उनीहरुको नाम त भन्न मिल्दैन तर हरेक क्षेत्रमा तिनीहरुको निर्णायक मान्छेहरु छन्।’ त्यसबाहेक नयाँ शक्ति उदाउन लाग्यो भने पुराना दलहरु समेत एकजुट भएर हराउन लाग्ने गरेको बताउँदै उनले भने, ‘अहिले राष्ट्रिय सभामासमेत त्यसकै अभ्यास हुन लागेको थियो तर केही कुरामा नमिलेर मात्रै त्यस्तो भएन।’ 

फरक प्रसङ्गमा उनले राजावादी देखिन राजासँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न नपर्ने बताए। राप्रपाका नेताहरुले ज्ञानेन्द्र शाहसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा हालेकोप्रति व्यंग्य गर्दै उनले भने, ‘राजावादी देखिन राजासँगको भेटको तस्बिर पोष्ट गर्न जरुरी छैन।’

प्रकाशित: २४ पुस २०८० ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App