२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन कांग्रेसमाथि नै संशय !

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउन विराटनगरमा भेला भएका गठबन्धन दलका नेताहरू। तस्बिर: चुमन/नागरिक

आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अन्य दलहरूले कांग्रेसमाथि नै संशय व्यक्त गरेका छन्। कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता पछि गठबन्धन दलहरूबिचको छलफलमा नेताहरूले कांग्रेसमाथि नै संशय व्यक्त गरेका हुन्।

सोमबार विराटनगरमा भएको कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्कीलगायतका नेताहरू सहभागी छलफलमा जसपा कोशी प्रदेश संसदीय दलकी नेता निर्मला लिम्बुले गठबन्धनको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेस भित्रको अन्तरविरोधलाई समाधान गर्न नेताहरूलाई आग्रह गरिन्।

लिम्बुले भनिन् ‘कांग्रेस भित्रको अन्तरविरोधलाई नमिलाए निर्वाचनमा समेत प्रभाव पार्न सक्छ।’ लिम्बुले आफूले एमालेको सरकार ढाल्न र गठबन्धनलाई सरकारमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरे पनि अहिले कांग्रेस र माओवादीले बेवास्ता गरिरहेको गुनासो गरिन्। उनले भनिन् ‘सरकारमा पुगेपछि कांग्रेस र माओवादीले गठबन्धनका अरुदललाई वास्तै गर्न छाडे।’ 

नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले गठबन्धनमा आबद्ध साना दलहरूलाई राष्ट्रियसभा निर्वाचनको मनोनयनमासमेत सहभागी नगराएको भन्दै कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग गुनासो गरे। रेग्मीले भने ‘गठबन्धन भन्ने तर, अन्य दलहरूलाई वास्तै नगर्ने प्रवृत्ति राम्रो भएन।’

कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धन र कांग्रेसलाई एक ढिका बनाएर अघि बढाउने बताए। उनले कांग्रेसमा समस्या नभएको दाबी गर्दै अन्य दलहरूले संशय मान्नु नपर्ने स्पष्ट पारे।

कोइरालाले कोशी प्रदेशमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सिटौला परिवर्तनका संवाहक र शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेको व्यक्तित्व भएको बताए। डा. कोइरालाले कांग्रेसमा चुनाव हारेकालाई राष्ट्रियसभामा नउठाउन तल्लो तहबाटै आवाज उठेको भए पनि कृष्णप्रसाद सिटौलाको योगदानलाई ध्यानमा राखेर आफूहरू सबै उम्मेदवार बनाउन सहमत भएको बताए।

उनले भने ‘हामीले चुनाव हारेकालाई नउठाऔँ भनेका थियौं तर, सिटौलाजीको योगदानलाई ध्यानमा राखेर उम्मेदवार बनाउन सहमत भएका हौं।’ 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशका सात प्रदेश मध्ये कोशी बढी प्रतिस्पर्धी अवस्थामा रहेको बताए। उनले गठबन्धनलाई तल्लो तह सम्म नै एकता बद्ध बनाएर लैजानुपर्ने धारणा राखे। उनले कोशी नामाकरणका विषयमा उठेका प्रश्नको समाधान प्रमुख राजनीतिक दलहरू र असन्तुष्ट पक्षबिच  छलफलका माध्ययमबाट गर्नुपर्ने बताए। 

कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन अगाडि रहे पनि चनाखो हुनुपर्ने बताए।

उनले कांग्रेस देशैभर एकताबद्ध भएर जाने दाबी पनि गरे। सिटौलाले चुनाव अवधिभर कोशी प्रदेशमै बसेर चुनावका लागि माहौल सिर्जना गर्न डा. शेखर कोइरालालगायतका नेताहरूलाई आग्रहसमेत गरे। 

कोशी प्रदेशमा रिक्त अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महिला तर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन्।

प्रकाशित: २३ पुस २०८० १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App