नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन्।
सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै यस्तो बताएका हुन्।
उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाए। उनले यस्तो ऐन संशोधनमा ल्याउनु आपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो? भन्दै प्रश्न गरे।
उनले भने,‘यति धेरै नेपाल ऐन संशोधनको कुरा गरिरहेका छौं। कुनै भाषाको संशोधन होइन। श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुँदै छैनन्। ६४ वटा भन्दा बढी ऐनहरु संशोधन यसभित्र आए। त्यसले पनि गम्भिर र महत्वपूर्ण छ भन्नेकुरा यसले पनि देखाएको छ। कुन मन्त्रालयबाट कुन ऐन संशोधन गर्न लागिएको हो र किन संशोधन आवश्यक भयो भनेर सधन रुपमा छलफल हुनुपर्छ । समिति गम्भिर बन्नुपर्छ। होइन भने जस्केलाबाट ऐनहरु बनाउने र विभिन्न स्वार्थ समूहका आवश्यकता पूरा गर्ने हिसावले ऐनमा राख्नु उपयुक्त हुँदैन। कुनैपनि मुलुकको राजनीतिक प्रणालीप्रति कुनै समूह असहमत रहेको हिसावमा हिंसात्मक राजनीतिक गतिविधिमा संलग्न भएर हिंसा मच्याउने कुनैपनि शक्तिलाई शान्तिपूर्ण प्रक्रियामा आउँछु। मुलुकको कानून र संविधानलाई मान्छु भनेर सरकारसँग सहमति गर्न तयार भयो भने जति नै अपराध गरे पनि उन्मुक्ति दिने र सजाय माफी दिने ऐन ल्याउन खोजिएको छ। यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ। सरकारलाई यो सोच कहाँबाट आयो?’
प्रकाशित: १६ पुस २०८० १३:१४ सोमबार