लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।
विगत केही महिना देखि लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच गम्भीर विवाद बढेको छ। यही विवादको कारण केही दिन अघि ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महताले बहिस्कार गरेका थिए। पार्टी अध्यक्ष ठाकुरको कायैशलीको कारणे बैठक बहिस्कार गरेको उनले बताएका थिए।
महतो मधेसका विभिन्न जिल्ला पुगेर बुधवार राति काठमाडौं आएका छन्। मधेसमा हुँदा उनले सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्ला पुगी लोसपाका स्थानीय कार्यकर्ताहरूसँग भेट गरेका थिए। महतो निकट एक नेता भन्छन्, ‘उहाँ (महतो) नयाँ पार्टी खोल्ने कि लोसपामै बस्ने भन्ने विषयमा सल्लाह लिन मधेस जानु भएको थियो। अधिकांशले ठाकुरले पार्टी चलाउन सक्दैनन, त्यसैले नयाँ पार्टी खोल्नुहोस भन्ने सल्लाह दिए।’ जिल्ला भ्रमण पछि नयाँ पार्टी खोल्ने सोचमा महतो पुगेको स्रोतले बतायो।
२०७८ भदौमा लोसपाको गठन भएको थियो। कानुन अनुसार महतोले लोसपा फुटाएर पार्टी खोल्न सक्दैनन। एउटा पार्टीबाट फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनमा व्यवस्था छ। त्यसैले महतोले पार्टी नफुटाएर नयाँ पार्टी गठन गर्न सक्छन्। उनले गठन गरेको नयाँ पार्टीमा लोसपाका सांसद तथा सार्वजनिक पदमा बसेका व्यक्ति भने जान सक्दैनन। किनभने उनीहरू नयाँ पार्टीमा गए उनीहरूको पद जोखिमा पर्छ। त्यसैले महतोले सार्वजनिक पदमा नबसेका व्यक्तिहरूलाई समेटेर नयाँ पार्टी खोल्ने तयारी गररहेको स्रोतले बतायो।
प्रकाशित: १२ पुस २०८० ०८:१३ बिहीबार