८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतालाई अधिकार माग गर्ने चेतना संघीयताले दिएको हो : जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ संघीयताले दिएको बताएका छन्। आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।  

संघीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए। उनले भने, ‘जनतामा शिक्षा, स्वास्थ्य, रोजगार, विकासको चेतना संघीयताले दिएको हो।’

संघीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ। उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासंघको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए।

कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताए। उनले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने जनाए। यसका साथै उनले सरकारलाई सिक्दै छु भन्ने छुट नभएकाले समन्वयको आवश्यकता रहेको बताए।

कार्यक्रमको अध्यक्षता गरेका नगरपालिका महासंघ नेपालका अध्यक्ष भीमप्रसाद ढुंगानाले अब सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा संघीयताको मूल मर्म जोगिने बताए। संघीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने उनले जानकारी दिए।

तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकाले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उनको भनाइ छ। अबको तीन दिनको छलफलले तहगत अधिकार कार्यविस्तृतीकरणको विषय टुङ्गोमा पुग्ने कारण यसलाई महत्वका साथ हेरिएको ढुंगानाले बताए। –रासस

प्रकाशित: १२ पुस २०८० ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App