१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेतृत्व र मन्त्रीको अराजकताका कारण जनतामा निराशा बढ्यो : नेता कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै। तस्बिर: नागरिक

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलको नेतृत्व र सरकारका मन्त्रीको अराजकताका कारण अहिलेको अवस्था खराब भनेर चित्रण भएको बताएका छन्।

 उनले राजनीतिक दलको नेतृत्वले आचरणसँगै नैतिक बल गुमाइ सकेको र सरकारमा रहेका मन्त्रीहरूको अराजक अभिव्यक्तिले गर्दा जनतामा अहिलेको व्यवस्थाप्रति आक्रोश बढेको बताए।

राजनीतिक दलको नेतृत्वप्रति निराशा र आक्रोश बढ्दो छ,’ नेता कोइरालाले आज नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेतृत्व र मन्त्रीहरूका कारण जनताको आक्रोश अहिलेको व्यवस्था गणतन्त्र र सङ्घीयताप्रति बढ्यो।’ उनले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्ति गलत भएको पनि बताए।

मन्त्री किराँतीले बुधवार क्रिश्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएको भनी अहिले सर्वत्र आलोचना भइरहेको  छ । यद्यपी, किराँतीले भने आफूले सबै धर्मको समान अधिकार रहेको भन्ने भावको अभिव्यक्तिलाई बङ्ग्याएर अतिरञ्जित गरेको दावी गर्दै आएका छन्।

नेता कोइरालाले अहिले भ्रष्टाचार बढ्नुको साथै दण्डहिनता उग्र रुपमा बढेको बताए । ‘भ्रष्टाचार बढेको बढयै छ, दण्डहिनता बढेको छ,’ उनले भने, ‘सरकारले सुशासन कायम गर्न सकेको छैन, अनि जनतामा कसरी निराशा बढ्दैन त ?’ उनले भ्रष्टाचार नेतासँगै कर्मचारी र व्यापारी बिना सम्भव नहुने बताए। ‘भ्रष्टाचारमा नेताको त संलग्न छ, कर्मचारी र व्यापारीको मिलेमतो पनि उत्तिकै छ,’ उनले भने, ‘भ्रष्टाचारलाई रोक्न सक्यो भने नेपाल ठिक ट्र्याकमा आउनेछ, नत्र देशको अवस्था खराब छ।’

उनले इजरायल र हमासको युद्ध अरु लम्बिएमा नेपाललाई ठूलो असर पुग्ने बताए। ‘अहिले नै कर्मचारीलाई ऋण लिएर तलब खुवाउनु पर्ने अवस्था भएकाले गर्दा देशको अवस्था ठिक छैन,’ नेता कोइरालाले भने, ‘यदि इजरायल र हमासको युद्ध लम्बिए अरु ठूलो आर्थिक सङ्कट नेपालमा निम्तिनेछ।’

उनले काँग्रेसभित्र वैचारिक हिसावले गुट ठिकै भए पनि गुटको नाममा पार्टीकै उम्मेदवारलाई हराउन लाग्ने व्यक्ति काँग्रेस हुनै नसक्ने बताए। ‘गुटलाई व्यवस्थापन गर्ने हो, जो नेतृत्वमा रहन्छ, त्यसलाई उसैले हल गर्ने हो,’ उनले भने।

सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले विगतमा पार्टीमा जहाँ जुन नेताले गलत गरेर कमजोर भयो, त्यहाँ अब नेतृत्व गर्ने नेताले सुधार गरे अवश्य सुधार आउने बताए।

अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गानाले पार्टीभित्रको गुटबन्दी मर्यादित हुनुपर्नेमा जोड दिदै पार्टीबाट जितेका नेतालाई संघ, प्रदेश र स्थानीय तहमा प्रभावकारी काम गर्न सुल्झाए।सोही क्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जुन जुन राजनीतिक दलले मिसन ८४ को नारा दिएर जनता भुल्याउने काम गरेका छन, त्यो त्रासको व्यापार भएको टिप्पणी गरिन् । 

सोही क्रममा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले असल सरकार सञ्चालनका लागि कसैसँग सम्झौता नगर्ने बताए। काँग्रेसका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले पार्टीलाई सबल बनाउनका लागि पनि कसैको आदेश पालक नभई स्वयम् भएर असल नेता छान्न सक्ने क्षमता सबै कार्यकर्तामा हुनुपर्ने बताए। 

प्रकाशित: ५ पुस २०८० १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App