२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धर्मनिरपेक्षता अस्वीकार गर्ने देशद्रोही: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री किराँतीले बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ। बिहीबार को समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किराँतीसँग जिज्ञासा राखेपछि उनले यस्तो बताएका हुन्।

धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरु एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनैपनि फूल अस्वीकार गर्नेहरू संविधान विरोधी भएको टिप्पणी गरे। उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्विकार्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरू देशद्रोही भएको बताए। उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु नहुने बताएको जानकारी गराए। उनले लोकतन्त्रमा सडकमा लट्ठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए। संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरूले संविधानसम्मत प्रश्न गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘माफी माग्ने, राजीनामाको कुरा पनि छ यति बेला मेरो। हिजो म एउटा कार्यक्रममा गएको थिएँ। त्यो कार्यक्रममा मैले बोलेको कुरा के हो भने संविधानको भावनाअनुसार हामी चल्नुपर्छ। हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरु, फूलबारीमा फुलेको फूल जस्तै हुन्। जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु। संविधान नमान्ने देशद्रोही त हो। राजतन्त्र हुँदा गणतन्त्रको ग हामीले भन्दा मृत्युदण्ड हुन्थ्यो। निरंकुशतामा लोकतन्त्रको ल भन्दा मृत्युदण्ड हुन्थ्यो, भएकै हो। तर लोकतन्त्रमा त्यो हुँदैन, भन्न पाइन्छ। लोकतन्त्रमा सडकमा लट्ठी चाहिँ घुमाउन पाइन्छ, अर्काको नाकमा हिर्काउन पाइँदैन। कसले सडकमा, चिया पसलमा के भन्यो भन्दा पनि यही संविधानमा आधारित, यही संविधानलाई नै मानेर, निर्वाचन नै लडेर जितेर आएको साथीहरूले संविधानलाई नै केन्द्रमा राख्नुपर्छ, यो प्रश्न पनि गैर जिम्मेवारी प्रश्न हो। संविधानसम्मत प्रश्न हो। यो नैतिकताको मात्रै प्रश्न होइन, सिद्धान्तको पनि प्रश्न हो। यस्तो प्रश्न यही संविधान स्विकारेर आएका मानिसहरूले, चुनाव जितेर आएका मानिसहरूले गर्नु शोभनिय हुँदैन। कि त संविधान मान्दिन भन्नुपर्छ। मानेपछि संविधानको लयमा बस्नुपर्छ।’

प्रकाशित: ५ पुस २०८० ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App