१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि पाँच दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ। सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रियसभाको निर्वाचनका लागि पाँचवटा दलले दल दर्ताको निवेदन दिएको जानकारी गराएका हुन्।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आयोगमा निवेदन दिएका छन्।

‘आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारसम्म पाँचवटा राजनीतिक दलले दर्ताको निवेदन दिएका छन्,’ उनले भने, ‘आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि मंसिर २९ गतेसम्म दल दर्ताको आह्वान गरेकामा हालसम्म नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत र नेमकिपाले दल दर्ता गराएका छन्।’

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका २० पदमध्ये माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदै छ।

आयोगले आगामी पुस २३ गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, माघ ११ गते मतदान हुने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

 निर्वाचन हुने १९ सिटमध्ये सत्तारुढ दलभित्र कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले तीन र जसपाले एक सिट पाउने गरी छलफल भइरहेको छ। त्यस्तै राष्ट्रपतिबाट मनोनीत हुने एकजना सांसदको सिट नेपाली कांग्रेसले माग गरिरहेको छ।

‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन गत मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा निवेदन दिन यो सूचना गरिएको छ,’ आयोगले एक सूचनामा उल्लेख गरेको थियो।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताहरू प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख/अध्यक्ष तथा उपाध्यक्षको मतभार निर्धारण गरिसकेको छ।

२०७८ सालमा सम्पन्न जनगणनाको आधारमा राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिसमा राष्ट्रियसभाका मतदाता रहेका प्रदेशसभा सदस्यहरू र स्थानीय तहका पदाधिकारीको मतभार तय गरिसकिएको छ।

आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम गरेको हो। राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ९, कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक गरी २० जना सांसदको पदावधि आगामी फागुन २१ गतेदेखि सकिँदै छ।

प्रकाशित: २६ मंसिर २०८० ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App