१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलुकमा पच्छगामी चिन्तनको कुनै गुञ्जायस छैन :महासचिव गुरुङ

नेकपा माओवादीका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पच्छगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन्।

भक्तपुरमा आज आयोजित कार्यक्रममा  उनले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै न्यायप्रिय जन समुदाय सचेत रहनु पर्ने बताए।महासचिव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरूक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।

उनले नेकपा माओवादी पार्टी मुलुक तस्करी तन्त्र र कमीशनतन्त्रबाट सदैव मुक्त रहनुपर्ने मान्यता रहेकाले वर्तमान गठबन्धनको सरकारले पनि भ्रष्टाचारको अन्त्यका लागि विभिन्न कदमहरू उठाएर सुशासन कायम गर्ने दिशातर्फ अग्रसर रहेको चर्चा गरे।

महासचिव गुरुङले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले छानबिन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए । उनले एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने बताए।

नेता गुरुङले पछिल्लो समयमा वामपन्थी एकताको प्रश्नले सघन रूप लिँदै गएको र त्यसमाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएका नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे।

उनले ढिलो चाँडो नेपालका वाम शक्ति एकै ठाउँमा उभिएर एकीकृत हुने टिप्पणी पनि गरे।उनले बाबुराम भट्टराई र उनको पार्टीसँग हुने एकीकरणको विषय सकारात्मक ढंगले अगाडि बढिरहेको जानकारी दिए।उनले एक अर्को प्रसङ्गमा युक्रेन–रुस युद्धको असंलग्न र पञ्चशील सिद्धान्तको आधार समस्याको समाधान खोज्नुपर्ने बताउँदै हमास–इजरायल युद्धको पनि शान्तिपूर्ण उपायका आधारमा समस्या टुङ्ग्याउनुपर्ने आवश्यकतामाथि जोड दिए।

प्रकाशित: २५ मंसिर २०८० १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App