५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

हात्ती नियन्त्रण गर्न माग

सुनसरी, मोरङ र झापामा आतंक मच्चाइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदहरुले माग गरेका छन्।

कोशी प्रदेश सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ज्ञानेन्द्र सुवेदीले झापा, मोरङ र सुनसरीमा भारतबाट आएका हात्तीले आतंक मच्चाइरहेकाले हात्ती नियन्त्रण गर्न सरकारसँग माग गरे।

भारतबाट आएका २७ वटा संख्याको हात्तीको झुण्डले मोरङ र सुनसरीमा दुई जनाको ज्यान लिइसकेको, किसानको बालीनाली नाश गरेर आतंक मच्चाइरहेको सांसद सुवेदीले बताए।

उनले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार र बालीनाली धनमाल नष्ट भएका जनतालाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे। ठूलो झुण्डको जंगली हात्ती सुनसरी र मोरङको चारकोसे झाडीमा लामोसमय रहँदा जंगल नजिकका जनता आतंकित भएको सुवेदीले बताए।

शून्य समयमा बोल्दै सांसद किशोरचन्द्र दुलालले ५ महिना पछि आएको बजेट कार्यान्वयनका लागि तत्काल सम्बन्धित निकायमा बजेट पुर्‍याउन माग गरे।

बजेट सम्बन्धित निकायमा पुर्‍याउन ढिलाइ गरे कोशी प्रदेशको बजेटमा उल्लेख भएका योजना तथा कार्यक्रमहरू कागजमा मात्रै सीमित हुने दुलालले बताए।

उनले प्रदेशसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रमहरू केही सांसदहरूले आफूले बजेट तथा योजना पारेको भनी सामाजिक सञ्जालमा पोष्ट गरी प्रदेशसभाको मानमर्दन गरेकोमा आपत्तिसमेत जनाए।

उनले भने ‘प्रदेशसभाले पारित गरेको योजना तथा कार्यक्रमहरू केही सांसदहरूले आफूले पारेको भनी सामाजिक सञ्जालमा पोष्ट गरी प्रदेशसभाको मान मर्दन गरेकोमा आपत्ति जनाउँदछु।’

शून्य समयमा सांसद गम्बु शेर्पाले लामो समय देखि प्रदेशसभा नेतृत्वविहीन रहेको भन्दै तत्काल सभामुख निर्वाचनको कार्यसूची प्रकाशित गर्न माग गरे।

प्रकाशित: १९ मंसिर २०८० १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App