१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार मुद्दाका ५ फरार प्रतिवादी पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

विशेष अदालत काठमाडौंले २०७९ चैत ८ गते ‘राजस्व रकम हिनामिना’ गरी भ्रष्टाचार गरेको ठहर गर्दै ५ जनाविरुद्ध जेल तथा रुपैयाँ जरिवानाको फैसला गरेको थियाे।

फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरताका क्रममा विशेष अदालतले गरेको फैसला बमोजिम भ्रष्टाचार मुद्दाका ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी, देवराज नेपाल र विराटनगर–४ का नयनराज नेपाल पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुलाई विशेष अदालतको आदेशअनुसार मोरङ जिल्ला अदालतमा पेश गरी फैसला कार्यान्वयनका लागि मोरङ कारागार चलान भएको डिएसपी दाहालले बताए।

मणिराज दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना, कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना, टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएको छ।

त्यसैगरी, देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तथा नयनराज नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएको थियो। उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको डिएसपी दाहालले बताए।

अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहीनता अन्त्य गर्ने अभियानअन्तर्गत चालु आर्थिक वर्षको मंसिर १७ गतेसम्म फरार रहेका २ सय १५ जना प्रतिवादीहरू पक्राउ गरी अदालतमा पेश गरी सकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८० ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App