१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कतार जाँदै परराष्ट्रमन्त्री साउद, विपीनको रिहाइका लागि पहल गर्ने

परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको बन्धमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन्।

आज नेपालस्थित कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीलाई परराष्ट्र मन्त्रालयमा बोलाएर जोशीको रिहाइका लागि सबै उपाय लगाइदिन आग्रह गरेका हुन।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरेको बताए। सोही क्रममा उनले नेपाली विद्यार्थी जोशीसहितका बन्धकको रिहाइका लागि समेत प्रयास गरिरहेको बताएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘कतार सरकारले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहेका छौँ।’

यसअघि कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारी नेपाल भ्रमणमा रहँदा मन्त्री साउदले जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तै डिसेम्बर १० देखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदैछन्। भ्रमणमा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने तयारी थालेको सचिवालयले जनाएको छ।

आजको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो।

इजरायल र हमास समूहबिचको युद्ध रोक्न एवं युद्धवन्दीहरू छुटाउन कतारले लगातार प्रयास गरिरहेको छ। केहीदिनअघि ७ दिनसम्म चलेको युद्ध विराम पनि कतारकै मध्यस्तकर्तामा भएको थियो।

युद्धविरामको समयमा हमास समूहले ११० इजरायली नागरिक र २४ जना विदेशी नागरिक रिहा गर्दा इजरायलले आफूसँग थुनामा रहेका ३३० जना प्यालेस्टाइनीलाई रिहा गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८० १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App