१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अस्थायी आवास बनाउनका लागि ५० हजार एकै पटक दिन सरकारलाई काँग्रेसको सुझाव

सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ।

बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो।

संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।  

उनले भने, ‘नेपाली काँग्रेस हामी आफनै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छाैं। र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ। र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं। र, अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्याहरु छन, त्यसलाई नै हामीले राजनीतिक रुपमा उठेका प्रश्न भनेका छौं। संघीयताका कुराहरु, संघीयतामा प्रदेशलाई अधिकार दिने कुराहरु, केही कानुनहरु निर्माण गर्न बाँकि छन्। संविधानको पक्षमा नेपाली काँग्रेस प्रतिवद्ध छ। यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ।’

त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। बैठकमा पार्टी उपसभापति समेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए। बैठकमा काँग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा रकम पठाईसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भिर भएका छौं । र, चाँडै नै पठाउँछौं, पुग्दैछ भन्ने कुरामा जानकारी भयो। तर पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ। त्यसैगरी सुत्केरी, गर्भवती महिलाहरु चिसोबाट प्रभावित भएका छन्। वृद्धवृद्धाहरुको मृत्यु नै भएको छ। त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस भन्ने कुरा भएको छ।’

प्रकाशित: १३ मंसिर २०८० १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App