७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रको विकल्प छैनः सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।”

उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए। गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन्? यो प्रश्नमा उनले भने, “को अत्तालियो? हामी अत्तालिएका छैनौं।”

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्ता साझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले साेधेका थिए। सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन्। गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ? यस प्रश्नमा उनको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नि।”

सो अवसरमा कांग्रेस नेता डा.शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताए। उनले भने, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हर कुराको सम्भावना छ। संसदले चाह्यो भने जे पनि हुन सक्छ।”

सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिंदै उनले भने, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नतितर्फ सरकारले ध्यान दिएन।”

सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए।उनले भने, “जनताका मनमा आएका व्यवस्था परिवर्तन सम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ।”

नारायणगढ-बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए।

प्रकाशित: ११ मंसिर २०८० ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App