१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन मितिसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। दलीय सहमतिका आधारमा राष्ट्रियसभा मिति घोषणाका साथै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ । बैठकमा सहभागी हुन प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी दललाई देउवाले आमन्त्रण गरेका छन्।

‘राष्ट्रियसभाको निर्वाचन मिति, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरीएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘यी विषयमा दलीय सहमतिको प्रयास गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो ।’

सर्वदलीय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक राखेर राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् । प्रदेश प्रमुख र अस्थायी राजधानी पनि घोषणा गर्ने सरकारको आन्तरिक तयारी छ । सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर वा भक्तपुर, ४ को पोखरा, ५ को लमही वा घोराही, ६ को सुर्खेत र ७ को धनगढी तोक्ने तयारी छ । यस विषयमा प्रधानमन्त्री देउवाले मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका दाहालसँग देउवाले सरकारले राष्ट्रियसभा निर्वाचन माघको अन्तिम साता हुनेगरी तोक्न लागेको जानकारी गराएका थिए।

दाहालले राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने भएकाले मिति घोषणामा विलम्ब नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । निर्वाचन आयोगले ३५ देखि ४० दिनको समय मागेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले माघको तेस्रो साता नकटाउन पनि आग्रह गरेको दाहाललाई सुनाएका थिए।

त्यसअघि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीले पार्टी नेताहरुसँग आन्तरिक छलफल गरेका थिए । पार्टी बैठकले अन्य दलसँगको सहमतिमा तत्काल राष्ट्रियसभाको निर्वाचन मिति तोक्न सुझाएको थियो । ‘निर्वाचन आयोगले पनि राष्ट्रियसभा निर्वाचन मिति खोजेकाले दलीय सहमतिमा तत्काल मिति तोक्न सरकारलाई आग्रह गरेका छौं,’ नेता बालकृष्ण खाँणले भने, ‘राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भएकाले मिति घोषणामा ढिला गर्नुहुन्न ।’ अन्य दलसँगको परामर्शमा सरकारले बिहीबारसम्ममा मिति घोषणा गर्ने उनले बताए।

बैठकले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश प्रमुख तोक्नैपर्ने निष्कर्ष निकाल्दै प्रदेश प्रमुख राजनीतिक नेता तथा कार्यकर्तालाई नबनाउन देउवालाई सुझाएको छ । ‘पार्टीका नेता तथा कार्यकर्ता होइन, मुलुकको सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका लब्धप्रतिष्ठित व्यक्तिलाई बनाउनुपर्छ,’ खाँणले भने, ‘प्रदेशको निर्वाचन परिणाम र निर्वाचित प्रदेश सांसदको सूची प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले अब ढिला गर्नुहुन्न।’

प्रकाशित: १८ पुस २०७४ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App